Top Headlines:

आङ गेलु शेर्पाको घर मेरो सोलु सार्वजनिक(मुजिक भिडियो सहित)

गायक आङ गेलु शेर्पाको पछिल्लो गीतिसंग्रह घर मेरो सोलु भित्र रहेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई प्रमुख अतिथि गायक तथा संगीतकार लाक्पा शेर्पाको हातबाट सार्वजनिक गरियो । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक रोज मोक्तान, म्यूजिक भिडियो निर्देशक एवं संचारकर्मी ल्हाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।  म्यूजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि लाक्पा शेर्पाले आङ गेलु शेर्पासँग संगीतको ज्ञान भएको कुरा आफूले बल्ल थाहा पाएको बताएका थिए । उनले अमेरिकामा छँदा नजिकबाट भेट भए पनि आङ गेलु शेर्पा गीत गाउँछन् भन्ने थाहा नभएको तर अहिले गीत सुने पछि उनी संगीतका नोटहरुमा पनि राम्रोसँग ज्ञान राख्ने व्यक्ति रहेछन् भन्ने थाहा पाएको बताए । 

त्यस्तै म्यूजिक भिडियोका निर्देशक ल्हाक्पा शेर्पाले म्यूजिक भिडियो निर्माणका क्रममा भएका घटनाहरुलाई बताएका थिए । सोलुको जनजीवन र पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै बनाइएको गीत अनुसार घर मेरो सोलुलाई स्याङङ्बोचेमा गएर छायाँकन गरिएको बताएका थिए । कार्यक्रमलाई समापन गर्दै संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले रेमिट्यान्सले धानेको संगीत क्षेत्रमा आङ गेलु शेर्पा पनि पछिल्लो उदाहरणका रुपमा आएको बताएका थिए । उनले आङ गेलु पुराना संगीतकर्मी भए पनि अमेरिकाको बसाईलाई संगीतसँग साट्न पुगेको बताउँदै घर मेरो सोलु अब पर्यटकीय गीतसमेत भएको बताएका थिए । गीतसंगीतका माध्यमले पर्यटनलाई विश्वसामु पु¥याउन सकिने कुरामा घर मेरो सोलु पनि रहेको बैरागीले बताए । म्यूजिक भिडियोमा ल्हाक्पा शेर्पा भीजेको निर्देशन रहेको छ भने सुरज खड्काको सहायक निर्देशन रहेको छ । सरस्वति लामाको कोरियोग्राफ रहेको छ । आङ गेलु शेर्पाको स्वर रहेको उक्त गीतमा रोज मोक्तानको शब्द र संगीत रहेको छ । म्यूजिक भिडियोमा रञ्जिता गुरुङको अभिनय रहेको छ । सोलुको पर्यटकीय दृश्यहरुलाई भिडियोमा कैद गरिएको छ ।

कार्यक्रममा संगीत कला पत्रकार संघको कल्याणकारी कोष निर्माणका लागि आङ गेलु शेर्पाले नगद राशि १० हजार प्रदान गरेका थिए । गीतसंगीतको क्षेत्रमा क्रियाशील पत्रकारहरुको कल्याणकारी कोष निर्माणमा जुटिरहेको संघलाई गायक शेर्पाले आफ्नो तर्फबाट सहयोग निरन्तर जारी रहने प्रतिबद्धतासहित १० हजार प्रदान गरेको कार्यक्रममा बताइएको थियो ।