Top Headlines:

यत्ति कुरा पनि नबुझेकै होला त?’ : प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रश्न

 

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुन अगावै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी दलप्रति प्रश्न गरेका छन् । 

शुक्रबार बिहान आफ्नो फेसबुक पेजमार्फत रिमालले पहिला प्रि–बजेटबारे छलफल हुनु पर्नेमा कुरामा जोड दिएका काँग्रेस सांसदप्रति इंगित गर्दै ‘हाम्रो प्रमुख प्रतिपक्षले यत्ति कुरा पनि नबुझेकै होला त?’ भनेर प्रश्न गरे ।

उनले लेखेका छन्, ‘‪नीति र कार्यक्रम सरकारको हो,‬ सत्तापक्षीय दलले आम मतदातासँग गरेको वाचा अनुरूपका नीति र कार्यक्रम यसमा प्रस्तुत गरिन्छ । ‪बजेट मुलुकको हो,‬ यसमा सिङ्गो संसदको सुझाव समेटिन्छ ।‬ बजेट प्रस्तुत भएपछि त्यसमा १ पैसा पनि थप र घट नहुने हुँदा‬ ‪नीति र कार्यक्रमपछि र बजेट अघि प्रतिपक्षी सांसदको सुझाव समेट्न ‪प्रि–बजेट छलफल हुन्छ ।‬ हाम्रो प्रमुख प्रतिपक्षले यत्ति कुरा पनि नबुझेकै होला त?’ ‬‬‬‬

सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम दिउँसो ४ बजे सार्वजनिक गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने छिन् । 

यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो ।

तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।