Top Headlines:

गणतन्त्र र सङ्घीयता जोगाउन नेपाली काङ्ग्रेस लड्नु पर्ने:नेता कोइराला

नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने दाबी गरेका छन् । 

उनले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताए । 

उनले भने,“गणतन्त्र र सङ्घीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि काङ्ग्रेस लड्नुपर्छ ।” मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै उनले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाए । राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धराशाही बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उनको भनाइ छ । 

फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीलाई गिरोहले सञ्चालन गरेको दाबी गरे । 
उनले भने, ‘राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ ।” काङ्ग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।