Top Headlines:

खारेज भएको नागरिकता प्रचलनमा ल्याए पाँचदेखि सात वर्षसम्म कैद र तीनदेखि पाँच लाखसम्म जरिवाना गर्नुपर्ने प्रस्ताव

१ चैत, काठमाडौं । संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले गैरआवासीय नेपाली नागरिकता लिने व्यक्तिको पहिलेको नेपाली नागरिकता स्वतः खारेज हुनेगरी नागरिकता विधेयकमा सहमति जुटाएको छ । तर खारेज भएको नागरिकता प्रचलनमा ल्याए कस्तो कारबाही गर्ने भन्ने विषयमा समिति निर्णयमा पुग्न सकेको छैन ।

सांसदहरुले खारेज भएको नागरिकता प्रचलनमा ल्याए पाँचदेखि सात वर्षसम्म कैद र तीनदेखि पाँच लाखसम्म जरिवाना गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

व्यक्ति गैरआवासीय नेपाली हो । तर, नेपालमा उसको सम्पति छ, पहिले लिएको नागरिकता पनि छ । सोही नागरिकताअनुसार गतिविधि गरिरहन्छ भने कारबाहीको दायरामा ल्याउनुपर्ने हुन्छ’ समिति सदस्य सांसद दिलेन्द्र बडुले भने ।

गैरआवासीय नेपालीमात्र नभई अरुको पनि नागरिकता खारेज हुन सक्ने र यस्ता नागरिकता प्रचलनमा ल्याए हदैसम्मको कारबाही गर्नुपर्ने सांसद झपट रावलले बताए ।

समिति सभापति शशि श्रेष्ठले खारेज भएको नागरिकता प्रचलनमा ल्याएको पाइए कस्तो कारबाही गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएकी छन् ।