Top Headlines:

विप्लव समूहको गतिविधि धेरै समय टिक्दैन : गृहमन्त्री रामबहादुर थापा

गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहको गतिविधि धेरै समय नटिक्ने बताएका छन्।

सरकार शान्ति–सुरक्षाका विषयमा गम्भीर रहेको भन्दै उनले विप्लव समूहले गर्दै आएको विध्वंसात्मक गतिविधि छिट्टै अन्त्य हुने बताए।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकाहरूसँग कुराकानी गर्दै विप्लव समूह ठूलो चुनौती नभएको बताए। ‘विप्लव चुनौती त होइन, राष्ट्रको सुरक्षा चुनौती भने थोरै थपिएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भैइसकेकोले यस्तो खालको समूहले पहिलेको जस्तो सुरक्षामा ठूलै चुनौती भने ल्याउन सक्दैन।’

विध्वंसात्मक गतिविधि गर्न आवश्यक नरहेको भन्दै गृहमन्त्री थापाले मूलधारमा आउन आग्रह गरिएको बताए।

‘केही ठाउँहरूमा स्थानीय तहका जनप्रतिनिधिहरूलाई तर्साउने पनि विप्लव समूहले गर्दै आएको भन्ने सुनिएको छ । तर, त्यो धेरै टिक्नेवाला छैन,’ उनले भने।

उनले राज्यविरोधी तत्वहरूले सुरक्षामा केही चुनौती खडा गरेकाले त्यसलाई सरकारले निस्तेज पार्ने दाबी गरे।

मधेश गठबन्धनको नेतृत्व गर्दै आएको सिके राउतसँग सरकारले गरेको सहमतिलाई गृहमन्त्री थापाले एक सुरक्षा चुनौतीको सामनाका रूपमा उल्लेख गरे।

‘हिजो मात्रै एक सुरक्षा चुनौती हामीले समाधान गरेका छौं,’ उनले भने, ‘गठबन्धन र सरकारबीच सहमति भएको छ, यसलाई राष्ट्रको मूलधारमा राखेर हामीले समाधान गरेका छौं।’

शान्ति सुरक्षा सुदृढ गर्ने विषयमा सरकार सफल भएको उनको भनाइ थियो।

फरक सन्दर्भमा गृहमन्त्री थापाले मुख्यगरी संघीयता कार्यान्वयनसम्बन्धी आवश्यक कानुनहरू बनाइएको र विकासका निम्ति आवश्यक योजना निर्माण गरिएको विषयलाई सरकारले गरेको एव वर्षको उपलब्धिका रूपमा रहेको बताए।