Top Headlines:

राप्रपा,संयुक्तका अध्यक्षद्वयको चेतावनी : भ्रष्ट सरकारविरूद्ध आन्दोलन गर्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा वर्तमान सरकारविरूद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन्।

वर्तमान सरकार देशमा ब्रह्मलुट मच्चाउनु बाहेक केही गर्न नसकेको भन्दै आन्दोलन गर्ने अध्यक्षद्वयले चेतावनी दिएका हुन्।

एक वर्षको अवधिमा सरकारले ३३ किलो सुन प्रकरण, वाइड बडी भ्रष्टाचार प्रकरणलाई सामसुम पार्ने खेलमा मात्रै लागेको आरोप लगाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले नेपालको अर्थतन्त्रलाई नै धराशायी पार्ने गरी वर्तमान सरकार अगाडि बढिरहेको आरोप लगाए। उनले नेकपा नेतृत्वको सरकारले केही उपलब्धि हासिल गर्न नसके पनि भ्रष्टाचारलाई भने विकेन्द्रिकरण गर्न भने सफल बताए।

 उनले भने,‘नेकपा नेतृत्वको सरकारले एउटा उपलब्धि हासिल गरेको छ त्यो हो भ्रष्टाचारलाई विकेन्द्रिकरण गर्दै वडावडासम्म भ्रष्टाचारलाई पुर्याउनु।’

२०४७ पछि दुई तिहाइ बहुमतको पहिलो सरकार भए पनि सरकारले यसको दुरूपयोग मात्रै गरेको उनले आरोप लगाए।

उनले भने,‘वर्तमान सरकारसँग सुनौलो अवसर थियो जसलाई वर्तमान सरकारले खेर फ्यालेको छ।’

राणाले देशमा अहिले सीमित अधिकार सहितको राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताए।

उनले राष्ट्रपतिको रवैया निष्पक्ष हुन नसकेकै कारण हामी हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि सडकको बाटो रोज्न लागेको जानकारी गराए।

भेलामा उपस्थित अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार संघीय सरकारले नदिएर संविधान विरोधी काम गरिरहेको आरोप लगाए।

उनले केन्द्र सरकारले सिडिओलाई चलाउनु दुःखद रहेको टिप्पणी गरे। संघीयतामा गएपछि प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिनु आवश्यक रहेको बताए।