Top Headlines:

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो कुरा बताएका हुन्।

सभापति देउवाले भने,‘सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो कांग्रेसलाई कदापी स्वीकार्य हुँदैन।’

सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उनले कांग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए।
विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मेका भई विसं २०११ बाट नेपाली कांग्रेसबाटै राजनीतिक यात्रा सुरू गरेका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बसेका थिए।

प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहेका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो। कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पण्डितको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उनको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए ।