Top Headlines:

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ। 

तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

यसअघि शनिबार नै अस्पतालमा पत्रकार सम्मेलन गरेर अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको जानकारी गराएको थियो ।

त्यसपछि आजै अर्को प्रेस विज्ञप्ति निकाल्दै अस्पतालले अधिकारीको निधन भएको औपचारिक जानकारी गराएको हो।

पूर्वउपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा एक महिनाको प्रयासपछि पनि स्वास्थ्यमा सुधार नआएपछि केही साताअघिमात्र उनलाई ह्याम्स सारिएको थियो।

नेपाल कम्युनिष्ट पाटी(नेकपा) का नेता अधिकारी मुलुकमा कुशल अर्थमन्त्रीका रुपमा चिनिन्छन्। उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए।

त्यसबेलाकाे वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो। त्यसलाई अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ।

उनी त्यसपछि संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वकाे सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भए। त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरे। अस्पतालमा सुत्केरी हुनेले हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्।

अधिकारी त्यसपछि झलनाथ खनाल नेतृत्वकाे सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भए।