Top Headlines:

व्यापार युद्ध अन्त्यको प्रयास गर्न राष्ट्रपति सी ट्रम्पको निजी रिसोर्ट जाने

६ महिनाअघि सुरू भएको दुई आर्थिक शक्ति अमेरिका र चीनबीचको व्यापार युद्ध सकिने चरणमा आइपुगेको छ।

अहिलेसम्म भएका वार्ताको निष्कर्ष निकाल्न चिनियाँ राष्ट्रपति सी चिनफिङ यही महिनाको अन्त्यमा अमेरिका जाँदैछन्।

उनले फ्लोरिडास्थित  राष्ट्रपति डोनाल्ड ट्रम्पको  मारालागो रिसोर्टमा ट्रम्पसँग वार्ता गर्ने बताइएको छ।

यसअघि सीले वार्ताका लागि ट्रम्पलाई चीनको हेनानमा बोलाएका थिए। तर ट्रम्पले त्यो प्रस्ताव स्वीकार गरेनन् बरू उनलाई आफ्नै रिसोर्टमा बोलाए। ट्रम्पको निजी रिसोर्टमा वार्ता गर्न जाँदा ट्रम्पलाई मनाउन मनोवैज्ञानिक रूपमा सजिलो हुने ठानेर सी मारालागो जान लागेको अनुमान गरिएको छ।  

अमेरिका जानुअघि राष्ट्रपति सी व्यापार र प्रविधि सुरक्षाका विषयमा कुरा गर्न युरोपका केही देशहरूमा पुग्नेछन्।

केही दिनपछि सुरू हुने चिनियाँ संसदको अधिवेशन सकेर सी युरोप यात्रामा निस्कने छन्।

मार्च २२-२३ मा सी इटालीको राजधानी रोम पुग्ने कार्यक्रम छ।

त्यहाँ उनले चीनको  बेल्ट एन्ड रोड इनिसियटिभका विषयमा छलफल गर्नेछन्। सी भ्रमणका क्रममा चीनको बिआरआईमा सहभागी हुन इटालीले समझदारी पत्रमा हस्ताक्षर गर्ने योजना रहेको जनाइएको छ।  

यदि इटालीले त्यस्तो समझदारी पत्रमा हस्ताक्षर गरे त्यो चीनका लागि निकै ठूलो उपलब्धी हुनेछ। किनकी बिआरआईमा हस्ताक्षर गर्ने इटाली संसारका ठूला १० अर्थतन्त्रमध्ये पहिलो हुनेछ।

इटाली भ्रमण सकेर सी पेरिस जाँदै छन्।  पेरिसपछि उनी सिधै अमेरिका जाने अनुमान गरिएको छ। मिति भने अझै तय भएको छैन।

दुबै देशका अधिकारीबीच बेङजिङ र वासिङट्नमा भएका बैठकमा दुई मुलुकबीच जारी व्यापार युद्ध टुंग्याउने प्रयास भइरहेको छ। विवाद धेरै मिले पनि अन्तिम टुंगो लागेको छैन।

चीनका प्रमुख व्यापार वार्ताकार लिउ हे वासिङ्टनबाट बेङजिङ फर्किसकेका छन्।

अन्य चिनियाँ अधिकारीहरू भने वासिङ्टनमै छन्।  

वौद्धिक सम्पत्ति प्रतिलिपी अधिकार, चीनमा विदेश कम्पनीहरूमाथिको अवरोध हटाउने र चिनियाँ कम्पनीलाई चीनले दिँदै आएको ऋणसहितको सहुलियत घटाउने विषयमा सहमति प्रयास जारी छ।

ठूलो असहमति भने सम्झौतामा समेटिने ती व्यवस्थाहरू कसरी कार्यान्वयन हुन्छन् र तिनको उल्लंघन भए  कसरी नियमन गर्ने भन्नेमा छ।

चीनले विश्व व्यापार संगठनको नियमअनुसार सम्झौता कार्यान्वयनका लागि दुई देशका १० जना अधिकारी संलग्न  संयुक्त समिति बनाउन प्रस्ताव गरेको छ।

अमेरिकाले भने चीनले पहिला पनि विश्व व्यापार संगठनको नियमलाई पालना नगरेकाले छुट्टै संरचना बनाउनु पर्ने बताएको छ।