Top Headlines:

फर्किए पाकिस्तानी नियन्त्रणमा रहेका भारतीय वायु सेनाका पाइलट

दुई दिनअघि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमान शुक्रबार साँझ भारत आइपुगेका छन्।

उनलाई पाकिस्तानी अधिकारीहरूले शुक्रबार राति साढे ९ बजे वगाहा नाकाबाट भारतीय अधिकारीलाई बुझाएका हुन्। यसअघि उनलाई दिउँसो तीन बजे नै भारत पुर्‍याउने भनिए पनि ढिला भएको थियो। ढिलाइ हुनुको कारण खुलाइएको छैन।

भारतीय वायु सेनाले अब अभिनन्दनको मेडिकल परीक्षण गर्ने र त्यसपछि अमृतसरबाट जहाजमा नयाँदिल्ली ल्याउने जनाएको छ।

पाकिस्तानले बुझाएका अभिनन्दनलाई पत्रकारसामू ल्याइएको थिएन। 

यसअघि बुधबार अभिनन्दनले चलाएको सैनिक जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको थियो।

त्यसपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेतस्वरूप अभिनन्दनलाई रिहा गरिदिन लागेको बताएका थिए।

अभिनन्दनको भारत फिर्तीसँगै मंगलबारदेखि चुलिएको भारत- पाकिस्तान तनाव मत्थर हुने अपेक्षा गरिएको छ।