Top Headlines:

कांग्रेस महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म

नेपाली कांग्रेसले महासमिति बैठक सारेको छ। 

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

यसअघि मंसिर पहिलो साता तय गरेको महासमिति तयारी नपुगेको भन्दै सारिएको हो। पार्टीको संघीय विधान निर्माणमा ढिलाइ हुने भएकोले बैठक सार्नु परेको नेताहरूले जनाएका छन्। 

बैठकले पार्टी संसदीय दलका उपनेता विजकुमार गच्छदारलाई उपसभापति नियुक्त गरेको छ। राजनीतिक निर्णयका आधारमा विधानत महासमिति बैठकबाट टुंग्याउने गरी सर्वसम्मत रूपमा गच्छदारलाई उपसभापति बनाइएको शर्माले बताए। 

कांग्रेससँग समाहित भएको गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई सम्पूर्ण रूपमा व्यवस्थापन गर्न पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ। केन्द्रीय सदस्य श्याम घिमिरेलाई पार्टीको लेखा समितिको प्रमुख बनाएको छ। 

बैठकले पद्मरत्न तुलाधर र सर्लाहीमा गोली लागेर मारिएका कांग्रेस कार्यकर्ता रामविलाश महतोको शोक प्रस्ताव पारित गरेको छ।