Top Headlines:

परराष्ट्रमन्त्रीको प्रतिवद्धता : जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्छौं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले जनताको अपेक्षा अनुसार मुलुकलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताए।

दसैँ, तिहार, नेपाल संवत, छठलगायतका चाडपर्वको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमीकमजोरीलाई हटाउँदै वर्तमान सरकार मुलुकलाई समृद्ध बनाउन लागि परेको दाबी पनि गरे।

वर्तमान सरकारले आफ्नो ८ महिनाको समय त्यसैखेर नफालेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनताको अपेक्षालाई पूरा गर्न सरकार जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको स्पष्ट पारे।

परराष्ट्रमन्त्री ज्ञवालीले हाम्रा चाडपर्वले सामाजिक सद्भाव कायम गर्न खेलेको भूमिको पनि चर्चा गरेका थिए।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान दिन आह्वान गरे।मुलुकलाई समृद्ध बनाउने सरकारको सपना साकार पार्न आफूहरू प्रतिवद्ध भएर लागि परेको मेयर शाक्यको दाबी छ।

मेयर शाक्यले काठमाडौंवासीलाई सुखी बनाउने अभियानमा काठमाडौं महानगरपालिका जुटिरहेको पनि बताए।