Top Headlines:

राष्ट्रिय पञ्चायतमा बहुदल माग्ने पद्मरत्न रहेनन्

मानवअधिकारवादी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो उनको नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ गौरी प्रधानले सेतोपाटीलाई जानकारी दिए।

तुलाधरलाई नौ दिनअघि ब्रेन ह्यामरेजका कारण अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था झन् जटिल भएपछि नर्भिक अस्पताल सारियो। पछिल्लो समय उनलाई छातीमा संक्रमण देखिएको प्रधानले बताए। तुलाधरका श्रीमती निलशोभा तुलाधर, दुई छोरी/दुई छोरा छन्।

उनी राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन्। तुलाधर २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका थिए। त्यो धेरै वामपन्थी नेताहरू जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचनमा उठेका थिए। काठमाडौंबाट तुलाधरजस्तै झापाबाट द्रोणचार्य क्षेत्री, मकवानपुरबाट रुपचन्द्र विष्ट, चितवनबाट जागृतप्रसाद भेटवाललगायतले निर्वाचन जितेका थिए।

तुलाधरले पञ्चायत सरकारका गृहमन्त्रीसमेत रहेका जोगमेहर श्रेष्ठलाई हराएका थिए। सूर्य चिन्ह लिएर राष्ट्रिय पञ्चायतमा उठेका तुलाधरलाई वामपन्थी र प्रजातन्त्रवादीहरुको समर्थन थियो। सो चुनावमा काठमाडौंबाट तुलाधर र विमलमान सिंहले चुनाव जितेका थिए। 

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछिको आम चुनावमा उनी स्वतन्त्र उम्मेद्वारका रूपमा काठमाडौं उठेका थिए। उनी उठेपछि एमालेले उनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार उठाएन। त्यसबेला कांग्रेस नेतृ मंगलादेवी सिंहलाई उनले हराए।

बहुदलकालमा उनी मानवअधिकारवादी र २०६२/६३ को आन्दोलनताका उनी नागरिक समाजको अगुवाका रूपमा परिचित थिए। उनी नेपाल भाषा उत्थान आन्दोलनमा पनि सक्रिय थिए।

२०६३/६४ पछि उनी पहिचानको आन्दोलनमा सक्रिय थिए।