Top Headlines:

पुरानो धरहराको ठूटा सिसाले छोपिने, नयाँ धरहरा आधुनिक पार्किङसहित २२ तले

आर्थिक प्रस्ताव खुलेसँगै धरहरा पुनर्निर्माण ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको टेन्डरमा जिआइइटिसी–रमन जेभीले सबभन्दा कम ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा बनाउन कबुलेको हो। उक्त कम्पनीलाई सात दिन समय दिइएको छ। कसैबाट विरोध नआए १५ दिनभित्र सम्झौता हुने प्राधिकरणले जनाएको छ। कम्पनीले ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सक्नुपर्नेछ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अहिलेसम्म कसैबाट गुनासो वा विरोध दर्ता नभएको जानकारी दिए। 

'यो कम्पनीले विगतमा पशुपति वृद्धाश्रम र जनकपुरमा केही भवन बनाएको छ। थोरै मूल्यमा ठेक्का सकारेकाले हामी केही सशंकित छौं,' उनले भने, 'तर आफ्नो काममा चुक्दैनन् भन्ने विश्वास छ।’

२०७२ को भुइँचालोमा भत्किएको यो संरचना अब कसरी पुनर्निर्माण हुँदैछ त?

प्राधिकरणले भुइँचालोमा ढलेको पुरानै धरहरा जिर्णोद्धार गर्न लागेको होइन। त्यति बेलाको नौतले धरहरा एक तलाको ठूटो मात्र बचेको छ। बचेको भाग 'भुइँचालो स्मारक' का रूपमा जस्ताको तस्तै राखिनेछ। यसको सुरक्षा निम्ति 'टेम्पर्ड ग्लास' ले छोपिने प्राधिकरणले जनाएको छ। 

पुरानोको आडैमा बन्ने नयाँ धरहरा २२ तलाको हुनेछ। यसअघि परम्परागत विधिबाट बनेको थियो। सुर्खीचुना प्रयोग गरिएको थियो। हरेकचोटि भुइँचालोमा ढलेकाले यसपालि आधुनिक विधि प्रयोग गरिने मानन्धरले बताए।

‘धरहरा पटक-पटक ढल्नुमा परम्परागत निर्माण सामग्री प्रयोग कारण हुनसक्छ,' उनले भने, 'त्यही भएर हामी कंक्रिट प्रयोग गर्दैछौं। सिमेन्ट, बालुवा, इट्टा र फलामले बन्ने धरहरा भुइँचालो प्रतिरोधात्मक हुनेछ।’

धरहरा एेतिहासिक सम्पदा भए पनि यसको पुनर्निर्माण बहुपयोगी आधुनिक भवनका रूपमा हुँदैछ। यहाँ तीनतले सवारी पार्किङ स्थल निर्माण गरिनेछ। सुन्धारा, न्यूरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सशुल्क पार्किङ गर्न सकिनेछ। न्यूरोड क्षेत्रको पार्किङ समस्या हल गर्न यो सुविधा थप्न लागिएको मानन्धरको भनाइ छ।

आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रुपमा विकास गर्ने गरी लिइसकेको छ। यसले धरहरा क्षेत्रफल विस्तार भएको छ। पहिले पाँच रोपनी थियो। अब ४२ रोपनी ओगट्नेछ। गोश्वारा हुलाकलाई आर्ट काउन्सिलपछाडि अस्थायी प्रि-फ्याबमा सार्ने काम भइरहेको छ।

प्राधिकरणबाट पारित डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहनेछ। भित्र छिरेपछि दुई तला भूमिगत हुनेछन्। भूमिगत तलाबाट लिफ्ट चढेर २२ तले धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ। 

पर्यटकको सुविधा निम्ति दुईवटा लिफ्ट राखिनेछ। एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउनेछ भने अर्कोले ८ जना ओराल्नेछ। आकस्मिक अवस्थाका लागि खुड्किला पनि हुनेछ। नयाँ बन्ने धरहराको संरचना अपांगतामैत्री हुने मानन्धरले जानकारी दिए।

धरहराको २०औं तलामा 'अब्जरभेसन डेक' निर्माण गरिनेछ। यहाँबाट काठमाडौं उपत्यका दृश्यावलोकन गर्न सकिनेछ। बीस तलाबाट धरहराको टुप्पासम्म जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ। धरहराको १६ फिट अग्लो गजुर प्राधिकरणले आफ्नो संरक्षणमा राखेको छ। यो गजुर नयाँ धरहरामा पनि प्रयोग गरिनेछ।

धरहरालाई हरियालीयुक्त बनाउन एउटा बगैंचा बनाइनेछ। बगैंचालाई 'ह्यांगिङ गार्डेन' नाम दिइएको छ।

धरहरा पुनर्निर्माण क्रममा सुन्धारा पनि मर्मत गरिने प्राधिकरणले जनाएको छ। कुनै समय काठमाडौंमै सबभन्दा धेरै पानी आउने भनिएको यो धाराको पुरातात्विक महत्व बिग्रन नदिई मर्मत गरिने मानन्धरले बताए।

'धरहरा र सुन्धारा एकीकृत रूपमा पुनर्निर्माण गरेर एउटै गन्तव्य बनाउनु हाम्रो उद्देश्य हो,' उनले भने, 'एेतिहासिक स्मारक पुनर्निर्माणपछि आधुनिक गन्तव्यका रूपमा विकास गर्न वरिपरि कफी सफ र रेस्टुरेन्ट सञ्चालन गरिनेछन्।'

डिजाइनअनुसार धरहरा प्रवेश गर्ने मुख्य ढोकामा पानीको अत्याधुनिक फोहोरा बनाइनेछ। यहाँ संग्रहालयसमेत निर्माण गर्ने योजना छ। संग्रहालयमा पुराना सिक्का छाप्ने मेसिन राखिनेछ। 

धरहरामा राखिने पानीको फोहोरा ५० फिट अग्लो हुनेछ। यसको १०औं तलामा मिनी थिएटर रहनेछ। जहाँ प्रोजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइनेछ।

विक्रम सम्बत् १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए। उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ। त्यतिबेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो। त्यसपछि नौ तला पुनर्निर्माण गरिएको हो।

यसपालि पुनर्निर्माण कसले गर्ने भनी लामो समय आलटाल भइरह्यो। सुरूमा नेपाल टेलिकमले बनाउने गरी प्रक्रिया अघि बढाइएको थियो। 

२०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गर्यो।

टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिइएको हो। प्राधिकरणले वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो।

सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए। यीमध्ये आशिष कन्स्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो।