Top Headlines:

दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको पदवहाली

तेस्रोपटक दूरसञ्चार प्राधिकरणमा नियुक्ति पाएका दिगम्बर झाले आइतबारदेखि पदबहाली गरेका छन्। गत बिहीबार मन्त्रिपरिषद बैठकले झालाई नियुक्त गर्ने निर्णय गरेको थियो।

आइतबार बिहान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सपथ ग्रहण गराएपछि प्राधिकरणमा पदबहाली गरेको झाले जानकारी दिए।

टेलिकम क्षेत्रको नियामक प्राधिकरणमा झाले पाँच वर्षका लागि नियुक्ति पाएका छन्। गत वैशाखमा अविश्वास गरेर काम रोक्न निर्देशन दिएको र असारमा वर्खास्त गरेको सरकार आफैंले झालाई फेरि नियुक्ति दिएको हो।

चौतर्फी विरोध र आलोचनाकाबीच नियुक्त पाएका झाले आजदेखि काम सुरु गरेका छन्।

अवकाश पाउने उमेरमा पुगेका झाले पाँच वर्ष लामो नियुक्ति पाउनुले पनि धेरैले प्रश्न उठाएका हुन्। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मंसिर १९ गते उनी पहिलोपटक प्राधिकरण अध्यक्षमा नियुक्त भएका थिए। उनको पदावधि २०७४ मंसिरमा सकिएको थियो।