Top Headlines:

लुम्बिनी भ्रमण गरी काठमाडौं फर्किए श्रीलंकाका राष्ट्रपति सिरिसेना

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरी काठमाडौं फर्किएका छन्।

बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका सिरिसेना सम्मेलन सकिएपछि शनिबार लुम्बिनी भ्रमणको लागि आएका हुन्।

काठमाडौंबाट चार्टर विमानमार्फत् शनिवार बिहान गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गरेका सिरिसेना कडा सुरक्षाकाबीच स्थलमार्ग हुँदै बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए।

पत्नीसहित लुम्बिनीमा भ्रमणमा आएका राष्ट्रपति सिरिसेनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठी, सांसद नविना लामा, प्रदेश पाँचका प्रहरी शेरबहादुर बस्नेत र प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले स्वागत गरेका थिए।

राष्ट्रपति सिरिसेना लुम्बिनी आउने भएपछि लुम्बिनीलाई लुम्बिनी विकास कोषले झकिझकाउ बनाएको थियो।

सिरिसेनाले लुम्बिनी पुगेलगत्तै मायादेवी मन्दिरको दर्शनसँगै आफ्नो परम्परा अनुसार पूजाअर्चना गरे। राष्ट्रपति सिरिसेनाले मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोट नजिकै विश्वशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए।

पूजापछि श्रीलंकन भिक्षुहरूले गरेको शान्ति पाठमा राष्ट्रपति सिरिसेना सहभागी भएका थिए। सिरिसेनालाई लुम्बिनीको महत्व र लुम्बिनी गुरुयोजनाबारे जानकारी गराउने उद्देश्यले मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषले विशेष समारोह आयोजना गरेको थियो।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्धको जन्मस्थल र लुम्बिनीको महत्वका बारेमा राष्ट्रपति सिरिसेनासहित उनको भ्रमण दलका सदस्यहरूलाई जानकारी गराएका थिए।

लुम्बिनीकोबारे बताउँदै मन्त्री अधिकारीले लुम्बिनीलाई शान्तिको सहर र विश्व शान्तिको मुहानका रूपमा विकास गर्न लागेको भन्दै अभियानमा अन्तर्राष्ट्रिय समुदायको समेत साथ र सहयोगको अपेक्षा गरेका थिए ।

मन्त्री अधिकारीले लुम्बिनीमा विश्वका सबै बौद्ध सम्पदाको विकास हुँदै गएको र लुम्बिनी गुरुयोजना पूरा हुँदा यो संसारकै आकर्षक स्थल हुने बताए।

‘नेपाल सरकारले लुम्बिनीको विकास गर्न श्रीलंका सरकारसँग सधै हातेमालो गर्न तयार छ’, मन्त्री अधिकारीले भने, ‘लुम्बिनी विश्वको शान्ति सहर हो, बौद्धमार्गीहरूको उद्गमथलो पनि हो। यहाँको बृहतर विकासका लागि गुरुयोजना अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै पूरा गर्छौं।’

श्रीलंकाका राष्ट्रपति सिरिसेनाका तर्फबाट विदेश मामिला मन्त्रालयका सचिव रविनाथा पि आर्यसिंहाले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकास र गुरुयोजना पूरा गर्न श्रीलंकन सरकार सहयोग गर्न तयार रहेको बताए। उनले लुम्बिनी धेरै बौद्धमार्गीहरूको केन्द्र रहेकाले पवित्र ठाउँको विकासमा आफूहरू सधै लाग्ने बताए।

मायादेवी मन्दिर परिसरमा भएको विशेष समारोहमा राष्ट्रपति सिरिसेनालाई पर्यटनमन्त्री अधिकारीले उपहार स्वरुप बुद्धमूर्ति प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपति सिरिसेनाले आगन्तुक पुस्तिकामा सानो हरफ लेखेर हस्ताक्षर गरेका थिए।

राष्ट्रपति सिरिसेनाले श्रीलंकन गुम्बाको अवलोकन पश्चात श्रीलंकन गेष्ट हाउसमा पुगेका थिए । लुम्बिनी भ्रमणपछि राष्ट्रपति सिरिसेना दिउँसो नै काठमाडौं फर्किएका छन् ।

राष्ट्रपति सिरीसेना लुम्बिनी आउँदा लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो। सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका थिए।

बिहान ८ बजेदेखि नै भैरहवा लुम्बिनी सडक खण्डमा सर्वसाधारणलाई आवतजावतमा निषेध गरिएको थियो। अतिविशिष्ट पाहुनाको सुरक्षामा कमी आउन सक्ने भन्दै लुम्बिनीमा दिनभर नै सर्वसाधारण, आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश निषेध गरिएको थियो।

यसैबीच प्रहरीले लुम्बिनीबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार राति १० बजेको समयमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ लोखडिया चोकबाट प्रहरीले मोटरसाइकलमा सवार दुईजनालाई हतियारसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा लु. ३९ प २९१९ नं. को मोटरसाइकल चालक रुपन्देही गैंडाहवा गाउँपालिका वडा नं.१ बस्ने १९ वर्षको सुनिल कुमार यादव र पछाडि बस्ने कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ को २० वर्षीय राजेन्द्र लोध रहेका छन् ।

प्रहरीले यादवको साथबाट एउटा छुरी र लोधको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ।

श्रीलंकाका राष्ट्रपति सिरिसेनाको लुम्बिनी भ्रमणको पूर्व सन्ध्यामा पक्राउ परेका दुवैजना उपर गहिरो अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।