Top Headlines:

‘कान्छा प्याराग्लाइडर्स गुरुङ’को एशियाड सपना पूरा, अबको लक्ष्य साग गेम्स

नेप्लेज, १३ भदौ । टिम गेम्समा पदक जितिसकेपछि कसको प्रदर्शन कस्तो रह्यो भनेर हिसाव हुँदैन । हिसाव गर्नु पनि हुँदैन । तर, फरक फरक स्वभाव र क्षमताका खेलाडीहरु मिलेर बनेको टिममा कसैको कम त कसैको बढी योगदान त पक्कै हुन्छ ।

१८औं एशियाली खेलकुदमा नेपालको पुरुष प्याराग्लाइडिङ टोलीले टिम क्रसकन्ट्रीतर्फ रजत पदक जित्दै नेपालको पदक खडेरी तोडेको छ । यो सफलतामा नेपाली टोलीका पाँचै खेलाडी उत्तिकै हकदार छन् ।

त्यति भन्दैगर्दा हरेक खेलमा स्थिर प्रदर्शन सबै खेलाडीको हुँदैन । हुन्थ्यो भने नेपालले ऐतिहासिक स्वर्ण जित्ने थियो । बरिष्ठ र अनुभवी ग्लाइडर्सहरुको बीचमा नेपाली टोलीमा एउटा फुच्चे पाइलट थियो ।

१६ वर्षको उ पदकको सपना देखेर इण्डोनेसिया उडेको थियो । कलिलो उमेरमै समग्र नेपालीको नायक बन्न सफल पाइलट हुन् पोखराका युकेश गुरुङ । जसको प्रदर्शन एशियाली खेलकुदमा अन्य नेपाली खेलाडीको भन्दा उत्कृष्ट रह्यो । समग्रमा विश्वस्तरीय प्रदर्शन गरे उनले ।

उनी क्रसकन्ट्रीको टिम इभेन्टका पाँचमध्ये चार चरणमा नेपालका लागि टाक्स पूरा गर्ने एकमात्र खेलाडी हुन् । तेस्रो चरणको टाक्समा भने उनीमात्र होइन प्रतिकुल मौसमका कारण सहभागी कुनै पनि खेलाडीले टाक्स पूरा गर्न सकेनन् । यसअर्थमा टिम क्रसकन्ट्री बिधामा युकेशको प्रदर्शन शतप्रतिशत रह्यो ।

प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुन्छन् । हरेक खेलाडीले १००० पूर्णांकको टाक्स पूरा गर्नुपर्छ । पाँचै खेलाडीले निर्धारित टाक्स पूरा गरेको अवस्थामा एक चरणमा कुल ५००० अंक हुन्छ । पाँच चरणमा गरी नेपालले कुल ११ हजार ३६४ अंक हासिल गरेको हो भने स्वर्ण जितेको जापानी टोलीले ११ हजार ३९१ अंक पायो । अर्थात २७ अंकले नेपाल स्वर्णबाट बिमूख भयो ।

एशियाली खेलकुदमा टिम क्रसकन्ट्री स्पर्धा मात्र समावेश गरिएको थियो । यदि व्यक्तिगत क्रसकन्ट्री समावेश थियो भने युकेशको पदकको सम्भावना बलियो रहेको उनको अहिलेको प्रदर्शनले देखाउँछ ।

टिम क्रसकन्ट्रीको स्पर्धामा युकेश सबै टाक्समा गोल गर्ने एक्ला नेपाली खेलाडी हुन् । अर्थात नेपाली खेलाडीहरुमध्ये सबैभन्दा राम्रो प्रदर्शन उनको रह्यो ।