Top Headlines:

सैन्य संरचना बनाउन थालेपछि विप्लव माओवादीविरुद्ध सरकारको कारबाही तीव्र

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले चन्दा आतंक फैलाएर धेरै रकम संकलन गरेको र सैन्य संरचना निर्माण गर्न थालेको सूचना आएपछि सरकारले कारबाही तीव्र पारेको छ।

पछिल्लो समय विप्लव देशबाहिर पनि सेल्टर बनाएर दुवैतिर बस्न थालेको थाहा पाएपछि सरकार गम्भीर बनेको हो।

कारबाही सिलसिलामा विप्लवपछिका नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित सैन्य फाँटका उपल्ला नेता र १० जना केन्द्रीय सदस्य पक्राउ परेको नेपाल प्रहरी र प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले सेतोपाटीलाई बताए। स्रोतका अनुसार जिल्ला कार्यकर्ता धेरै पक्राउ परेका छन्।

‘विप्लव माओवादीको सैन्य फाँट हेर्ने ठूला नेता पक्राउ परेको हाम्रो विश्वास छ,' प्रहरी स्रोतले भन्यो, 'सैन्य फाँटका प्रमुख नै उनी हुन् वा उनीभन्दा माथि र विप्लवभन्दा तल अरु कोही छ भन्ने हामी अनुसन्धान गर्दैछौं।’

सुरक्षा संवेदनशीलताका कारण ती व्यक्तिको नाम भने प्रहरी स्रोतले खुलाउन चाहेन। मन्त्रिपरिषद स्रोतले पनि विप्लव माओवादीको सैन्य फाँटका ठूला नेता पक्राउ परेको पुष्टि गर्यो।

‘अब पनि हामीले सुरक्षामा ध्यान दिएनौं र विप्लव माओवादीलाई हलुका रुपमा लियौं भने भविष्यमा यो समस्या ठूलो हुन सक्ने देखियो,’ मन्त्रिपरिषद स्रोतले भन्यो, 'त्यही भएर उनीहरुका नेता र कार्यकर्ताविरुद्ध धरपकड तीव्र पारेका छौं।'

विप्लव माओवादीले २५ देखि ३० करोड रुपैयाँ चन्दा उठाएको प्रहरी स्रोतको दाबी छ। यति ठूलो रकम जम्मा गरेपछि विप्लव माओवादी सैन्य तालिम र सैन्य संरचना निर्माणमा लागेको स्रोतले बतायो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार बिहान सम्पादकहरुसँगको भेटमा विप्लव माओवादीको नाम नलिई यो चुनौती गम्भीर बन्दै गएको संकेत गरेका थिए।

'अहिले केही तत्वहरु हिंसाको खेतीमा लागेका छन्,’ प्रधानमन्त्रीले विप्लव माओवादीका गतिविधि इंगित गर्दै भने, 'ती अराजनीतिक, असामाजिक र आतंककारी गतिविधि हुन्, सभ्य समाजले त्यसलाई स्वीकार्न सक्दैन।'

प्रधानमन्त्रीले केही समययता विप्लव माओवादीले गराएका हिंसात्मक घटनाको फेहरिस्त सुनाउँदै भने, 'उदयपुरमा चुनाव बेला नेपाली कांग्रेसका नेताको खुट्टा काटियो। यो आपराधिक काम हो। रौतहटमा निहत्था आमा र छोरामाथि आक्रमण गरियो। कसैको हात छैन। कसैको खुट्टा छैन। जागिर खान गएका एक म्यादी प्रहरीको ज्यान गयो। भोजपुरमा नेतामाथि आक्रमण गरियो। नुवाकोटमा अर्का नेता चढेको गाडीमा प्रहार भयो।'

विप्लव माओवादीको वाह्य शक्तिसँग साँठगाँठ रहेको पनि प्रधानमन्त्रीले संकेत गरे। भने, ‘यस्ता तत्वलाई थुन्न पनि गाह्रो छ। तिनको पहुँच कहाँ, कहाँसम्म छ भन्न गाह्रो छ। तिनलाई क-कसको साथ छ, सहयोग छ, क-कसको हात छ भन्न सकिँदैन। यो डरलाग्दो कुरा हो।’

प्रहरीको उच्च स्रोतले भने प्रकाण्ड र सैन्यफाँटका ठूला नेता समातिएपछि विप्लवको शक्ति धेरै कमजोर भएको दाबी गरे।

‘आर्थिक र सांगठनिक पक्ष हेर्ने प्रमुख नेता नै प्रकाण्ड हुन्,' स्रोतले भन्यो, 'उनलाई पक्रेपछि विप्लव समूहलाई धेरै ठूलो धक्का पुगेको छ।’

प्रकाण्डसहित पक्राउ परेका मुख्य माओवादी नेताहरुलाई त्यत्तिकै नछाडिने पनि प्रहरी स्रोतले बतायो। प्रकाण्डलाई अदालतले बारम्बार छाड्न आदेश दिए पनि सरकारले अदालत परिसरबाटै तुरुन्त पक्राउ गर्दै आएको छ।

गत साउन २२ गते हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रकाण्ड पक्राउ परेका थिए। प्रहरीले उनीमाथि जबर्जस्ती चन्दा असुलीको आरोप लगायो। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरायो।

साउन २५ गते दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दामा न्यायाधीशहरू चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले भदौ १ गते उनलाई छाड्न आदेश दियो। सर्वोच्चले चन्दा ऐन २०३० अनुसार कसुरजन्य कार्य गरेको नदेखिएको भन्दै रिहाइ गरेको हो।

सर्वोच्चले छाडे पनि प्रहरीले भने छाडेन।

मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीबाट बाहिरिन लागेका बेला प्रकाण्डलाई प्रहरीले सर्वोच्चको गेटबाटै समातेर काभ्रे पुर्‍यायो।

उनीमाथि गत वैशाख १ गते नमोबुद्ध नगरपालिकास्थित ब्लुसाइट स्टोर क्रसरमा विष्फोट गराई क्षति पुर्‍याएको आरोप थियो। त्यही आरोपमा विप्लव माओवादीका मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। प्रकाण्ड भने फरार सूचीमा थिए। क्रसर उद्योगमा भएको आक्रमणमा चार टिपर, दुई एक्स्काभेटर र एउटा जेसिबी नष्ट भएको थियो।

काभ्रेमा मुद्दा अघि बढेपछि भदौ ३ गते प्रकाण्डका छोरा नरेन्द्रले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गरे।

सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीले 'कानुनी प्रक्रिया पूरा नगरी पुन: पक्राउ गर्नु कानुनसम्मत मान्न नसकिने' भन्दै भदौ ७ गते उनलाई रिहा गर्यो।

त्यसै दिन राति पौने ८ बजे अदालतको गेटबाटै उनी तेस्रोपटक पक्राउ परे। उनलाई नुवाकोट पुर्‍याइयो। नुवाकोटमा उनीविरुद्ध एनसेलको टावरमा विष्फोट गराएको मुद्दा लगाइएको छ।

यसबीच सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेले भदौ १० गते बन्दप्रत्यक्षीकरण मुद्दामा उनलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश दिइसकेको छ। गाईजात्राको विदाका कारण उनको उपस्थिति मंगलबार बिहान १० बजेका लागि तय भएको छ। अदालतले पटक-पटक रिहा गरे पनि सरकार प्रकाण्डलाई छाड्ने सुरमा छैन।

उनीमाथि अर्को मुद्दा भोजपुरमा छ। २०७४ कात्तिक २८ गते प्रतिनिधि सभा/प्रदेशको निर्वाचन बेला भोजपुरमा अहिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडी विष्फोटन गराएको मुद्दा छ। अदालतले उक्त मुद्दामा पक्राउ गर्न वारेन्ट जारी गरेको थियो। कालिकोटको नरहरीनाथमा रहेको उनको घरमा म्याद तामेलीको पत्र टाँसिइसकेको छ।

गृहमन्त्री रामबहादुर थापाले पनि प्रकाण्डमाथि सरकारको कडा रवैया रहने संकेत गरिसकेका छन्।

साउन २५ गते चितवनमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘चन्दा आतंक र ध्वंसात्मक गतिविधि गरेर राज्यविरुद्ध लागेकाले प्रकाण्डलाई पक्राउ गरिएको हो। कानुन र विधि उल्लघंन गरेकाले उनी अपराधी हुन्।'