Top Headlines:

भक्तपुरमा उच्च सतर्कता, प्रजिअ भन्छन्– स्ट्याण्डबाई छौं

२१ साउन, काठमाडौं । पानी पर्दा डुबानमा पर्दै आएको भक्तपुरमा उच्च सतर्कता अपनाइएको छ । काठमाडौं उपत्यकामा भएको अत्यधिक वर्षाले खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहान ७ बजेसम्म भक्तपुर डुबानमा परेको रिपोर्ट नआएको बताए । तर, सम्भावित अवस्थालाई मध्यनजर गरेर उच्च सतर्कता भने अपनाइएको उनले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म डुबानको जानकारी आएको छैन तर हामी स्ट्याण्डबाई छौं ।’

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी भक्तपुरमा पस्दा सल्लाघारी, श्रीजनानगर, राधेराधे, दुवाकोट लगायतका स्थान डुबानमा पर्ने गर्दछन् । यसअघि २८ असार र २० साउनमा भक्तपुर डुबानमा परेको थियो । बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति भएकाले मर्मत गरिएको थियो ।