Top Headlines:

ओली सरकारकी कान्छी मन्त्री वीना

नेकपा माओवादी केन्द्रकी नेतृ वीना मगरलाई मन्त्री बनेकी छन्। उनी केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को कान्छी सदस्य हुन्। ३४ वर्षीया विना सम्भवत नेपालकै कान्छी महिला मन्त्री हुन्।

२०४० साल मंसिर २२ गते कन्चनपुरमा जन्मिएकी वीना पुर्नवास जनता माध्यमिक विद्यालयमा पढ्दादेखि नै सक्रिय राजनीतिमा लागेकी थिइन्।

एसएलसीपछि उनी काठमाडौं पढ्न आइन्।

प्रदर्शनीमार्गको रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दै गर्दा विद्यार्थी राजनीतिमा लागिन्। अखिल क्रान्तिकारीको काठमाडौंको जिल्ला अध्यक्ष भएपछि उनी तत्कालीन नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन्।

२०६० सालमा वीना पक्राउ परिन्। नेपाली सेनाले उनलाई भैरवनाथ गणमा पुर्‍यायो।

भैरवनाथ गणमा २०६० सालबाट २७ महिना वीनाले बेपत्ताको रूपमा जीवन व्यतित गरेकी थिइन्।

२०६० सालमा राजधानीको महारगञ्जमा रहेको भैरवनाथ गणले १ सय ३७ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका मध्ये ४९ जना अझै बेपत्ता छन्।

राष्ट्रसंघीय निकाय युएनओएचसिआरको रिपोर्टअनुसार भैरवनाथ गणमा बन्दी बनाइएका केहीको सेनाको यातानाकै कारण मृत्यु भएको थियो। माओवादी युद्धका बन्दीहरुलाई गणमा चरम यातना दिइएको थियो। हातको नङमा पिन ठोकिएको थियो र उनीहरुलाई आँखामा पट्टी बाँधेर यातना दिइएको थियो।

वीनाले पनि भैरवनाथ गणमा चरम यातना भोगिन्। २०६२/६३ को आन्दोलनका बेला अदालतको आदेशबाट वीना रिहा भइन्।

२०६५ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी सरस्वती क्याम्पसको सभापतिमा विजयी भइन्।

२०६९ सालमा वीनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशसँग उनले प्रेम विवाह गरिन्। सगरमाथा आरोहणका क्रममा उनीहरू प्रेम भएको थियो।

प्रकाश दाहालसँगको प्रेम विवाहअघि वीनाले सुर्खेतका शंकर अधिकारीसँग विवाह गरेकी थिइन्। उनीहरुको सम्बन्धविच्छेद भएको थियो।
विवाहपछि नेकपा माओवादी केन्द्रले वीना र प्रकाशलाई सांस्कृतिक विचलनको आरोपमा ६ महिना कारबाही गरेको थियो। केही समय वीना र प्रकाश भारतमा बसेका थिए।

प्रकाशसँगै नेपाल फर्किएकी वीना २०७० सालमा कञ्चनपुर १ संविधान सभा सदस्यमा चुनाव लडेकी लडिन्। त्यतिबेला उनी पराजित भइन्।

प्रकाशको निधनपछि बीना अहिले अध्यक्ष प्रचण्डसँगै खुमलटार निवासमा बस्ने गरेकी छिन्। उनी संविधानसभाको दोश्रो निर्वाचनमा कञ्चनपुर १ बाट उम्मेद्वार बने पनि पराजित भइन्।

२०७४ मा बाम गठबन्धनकी उम्मेद्वार बनेकी बीना २९ हजार २१ मत ल्याएर विजयी भएकी थिइन्।

माओवादी केन्द्रका नेता हिमाल शर्मा वीनालाई राजनीतिक सिद्धान्तमा अडिग नेताको रूपमा चिन्छन्। ‘भैरवनाथ गणमा रहँदा समेत उहाँले सिद्धान्त छाड्नु भएन’, शर्मा भन्छन्, ‘सक्रिय राजनीतिक रुचाउनुहुन्छ।‘

कतिपय माओवादी कार्यकर्ताहरु भने बीना जनताको भन्दा शक्तिको नजिक रहने गरेको आरोप लगाउँछन्।