Top Headlines:

नेपाली क्रिकेटलाई पहिलाेपटक एकदिवसीय मान्यता

अन्ततः लामाे प्रतीक्षापछि नेपालले क्रिकेटमा पहिलाेपटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भएको छ । जिम्बावेमा जारी आर्इसीसी विश्वकप क्रिकेट छनाेट प्रतियोगिताकाे प्लेअफ खेलमा बिहीबार नेपालले पपुवा न्युगिनी र नेदरल्यान्डसले हङकङलार्इ हराएपछि नेपाली क्रिकेटप्रेमीले खुसियाली मनाउने अवसर पाएकाे हाे ।

विश्वकप छनाेटमा सहभागी ६ एसाेसियट राष्ट्रमध्ये उत्कृष्ट तीनले एकदिवसीय मान्यता पाउने प्रावधान थियाे । नेदरल्यान्डसलार्इ यसअघि नै एकदिवसीय मान्यता प्राप्त थियाे । त्यसैले बाँकी युएर्इ, स्कटल्यान्ड, नेपाल, हङकङ र पपुवा न्युगिनीमध्ये तीन राष्ट्रले एकदिवसीय मान्यता पाउन पनि प्रतियाेगितामा सहभागिता जनाएका थिए । युएर्इ र स्कटल्यान्डले सुपरसिक्समा प्रवेश गरेर गत साेमबार नै एकदिवसीयकाे लक्ष्य हासिल गरिसकेका थिए ।

अब नेपाल र नेदरल्यान्डसबीच प्रतियाेगिताकाे साताैं स्थानका लागि शनिबार भिडन्त हुनेछ । नेदरल्यान्डसकाे सट्टा हङकङले जितेकाे भए नेपालकाे एकदिवसीय मान्यता पाउने यात्रा शनिबारसम्म लम्बिनेथियाे । त्यस्ताे अवस्थामा नेपालले हङकङलार्इ हराउनुपर्ने थियाे ।

नेपालले पपुवा न्युगिनीलार्इ ६ विकेट र नेदरल्यान्डसले हङकङलार्इ ४४ रनले पराजित गरेका हुन् । पराजयसँगै पपुवा न्युगिनी र हङकङ डिभिजन टुमा झरेका छन् । अब नेपालले २०२२ काे विश्वकप छनाेट प्रतियाेगितासम्म एक दिवसीय मान्यता पाएकाे छ ।

पिएनजीसँग यसअघि भएका तीन खेलमा नेपालले एकपटक पनि जित्न सकेकाे थिएन ।

आज पिएनजीलाई सस्तैमा समेटेर नेपालले ६ विकेटको विजयी रेकर्ड कायम गर्यो । टस जितेर ब्याटिङको निम्तो पाएको पिएनजीले २७ ओभर २ बल खेल्दै जम्मा ११४ रन बनाएर अलआउट हुन पुग्यो । ११५ रनको लक्ष्यका साथ मैदान उत्रिएको नेपालले २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । ७ ओभर खेल्दै गर्दा ३ विकेट गुमाइसकेको नेपालले त्यसपछि भने सम्हालिएर खेल्यो । १०२ रन बनाउँदै गर्दा नेपालका आरिफ सेख आउट हुन पुगे ।

उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले ब्याटिङ तर्फपनि राम्रो प्रदर्शन गर्दै सर्वाधिक ५० रन बनाए । आरिफ सेखले २६ रन बनाउँदा कप्तान पारस खड्का २० रनमा आउट हुन पुगे । अनिल साहले ९ रन बनाए भने रोहित कुमार नटआउट ३ रन बनाएर अभिजित रहे । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल भने १ रन बनाउँदै पेभेलियन फर्किए ।

यसअघि बलिङ गरेको नेपालले पपुवा न्युगिनीलाई खेल अवधिभर निरन्तर दबाबमा राख्यो । पिएनजीलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४ विकेट लिए । यस अघि राम्रो बलिङ देखाउन नपाएका सन्दिप लामिछानेले आज भने बलिङमा जादु देखाए । उनले ४ विकेट लिन ८ ओभरमा २९ रन खर्चिए ।

सन्दिपले किप्लिन डोरिगा, महुरू दाइ, सेसे बउ र चाद सोपरको विकेट लिन सफल भए । तेस्रो ओभर चल्दै गर्दा क्याप्टेन समेत रहेका आसाद भल्ला सोमपाल कामीको बलमा आउट हुन पुगे । उनले ब्यक्तिगत १० रन मात्र बनाउन सके । पिएनजीका लागि शसक्त ब्याट्सम्यान मानिएका टोनी उरा करण केसीको बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए ।

त्यसपछि लगातार सन्दिपले ४ विकेट लिए पछि धर्मराएको पिएनजीको ब्याटिङ फेरी उठ्न सकेन । पिएनजीका लागि चार्लेस आमिनले सर्वाधिक १९ रन लिए । आमिनको विकेट दीपेन्द्रसिंह ऐरीले लिए । ऐरीले अन्तिम विकेटको रुपमा जोन रेभालाई आउट गरे ।

यस अघि ऐरीले ज्यासन किला र नोर्मन भनुआको लगातार विकेट लिएका थिए । २६ औँ ओभरको बलिङ गरेका ऐरीले दुवैको विकेट लगातार लिएका हुन् । उनी ह्याट्रिक गर्न भने चुके । यस्तै सोमपाल कामी र करण केसीले एक एक विकेट लिए ।

एशोसिएसट टिम मात्र रहेकाे नेपालका लागि याे ठूलाे सफलता हाे । अब एकदिवसीय मान्यता पाएपछि टिमले एक्सपोजर पाउनेछ । साथै अार्इसीसीले दिने सहयोग वृद्धि हुनेछ ।

तर, ओडीआई स्टाटस मात्र सबै कुरा होइन । नेपाली क्रिकेटको घरेलु संरचना बलियो छैन । क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ । त्यसैले क्रिकेट संघको विवाद सल्टाएर घरेलु संरचना बलियो नबनाएसम्म ओडीआई स्टाटसबाट पर्याप्त लाभ लिन सकिन्न ।

नेपाली क्रिकेटकाे विकासका लागि सबै तर्फबाट अावश्यक सहयाेग रह्याे भने मात्र भविष्य उज्ज्वल रहने छ ।