Top Headlines:

प्रधानन्यायाधीशबाट ‘पदमुक्त’ पराजुलीले भने : ‘म मेरो काम नियमित गर्नेछु

न्यायपरिषद्का सचिवको पत्रबाट ‘पदमुक्त’ भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश दिने सम्बन्धी पत्रको कुनै महत्व नरहेको बताएका छन्।

बिबिसी नेपाली सेवालाई साँझ प्रतिक्रिया दिदैँ पराजुलीले न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले गरेको निर्णय कायम हुन नसक्ने बताएका हुन्।

‘त्यो पत्रको कुनै भ्यालु पनि छैन। सचिवलाई त्यस्तो गर्ने अधिकार पनि छैन। त्यो पत्र कायम हुन सक्दैन’, पराजुलीले भनेका छन्। पराजुलीले आफू नियमित काममा जाने समेत बताएका छन्।

‘कथित सूचना जारी गरेर मलाई पदबाट हटाउनै पाउंँदैन। मेरो उमेर छर्लङ्ग छ। वैशाख १५ गते म स्वत: अवकास हुने थिएँ’, पराजुलीले भनेका छन्, ‘केहि तत्वको ग्रान्ड डिजाइनले यो भएको हो, त्यसैले, म मेरो काम नियमित गर्नेछु।’

न्यायपरिषद्का सचिव निरौलाले आजै न्यायपरिषद् ऐन २०७३ को दफा ३१ को ७ बमोजिम गत भदौ २१ गते नै उनी पदमुक्त भएको पत्र पराजुलीलाई लेखेका थिए। तर, पराजुलीले त्यस्तो पत्रमा उल्लेख गरिएको दफा प्रयोगको अधिकार सचिव निरौलालाई नभएको बताए।

‘जसलाई निर्णय गर्ने अधिकार हुन्छ उसले मात्र त्यो दफा प्रयोग गर्न पाउँछ, न्यायपरिषद्ले गर्ने निर्णय न्यायपरिषद्को सचिवले गर्न पाउँदैन’, पराजुलीले भनेका छन्।

बिबिसीका शरद् केसीले निरौलाको निर्णयको पछाडि कुनै कारण छन् कि भन्ने जिज्ञासा राखेका थिए। तर उनले केहीबेर अकमकिदैँ त्यस्तो निर्णय कसरी भयो भन्नेबारे कुनै जानकारी नरहेको बताए।

‘गैरकानुनी निर्णय भएको हुनाले कसरी गरे थाहा छैन। गर्न नहुने काम गरे। त्यति मात्र हो।’

उनले आफूले जागिर खाँदा पेश गरेको शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र ट्याली गर्नुपर्ने धारणा भने राखेका छन्। बुधबार नै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले न्यायपरिषद्लाई पराजुलीको जन्ममिति २०११ साल बैशाख १३ आफ्नो रेकर्डमा भएको जनाएको थियो।

पराजुलीले उक्त जन्ममिति कायम भए आफूले अझै एक वर्ष प्रधान न्यायाधीशको पदमा रहने बताएका छन्।

‘त्यसो भए त अरु एक वर्ष बढ्छ। अरू एक वर्ष बढी खान्छु’, उनले भनेका छन्।