Top Headlines:

एक महिनाभित्र ३५ रोपनी जग्गा सार्वजनिक स्थल बनाइने

विभिन्न संघ–संस्था र व्यक्तिले मिचेर राखेका सार्वजनिक जग्गा काठमाडौं महानगरपालिकाले फिर्ता लिएर खुला स्थलमा परिणत गर्ने अभियान सुरु गरेको छ।

होटल काठमाडौंले लामो समयदेखि कब्जामा लिएर बसेको साढे ६ आना जग्गा नियन्त्रणमा ल्याएर महानगरले यो अभियान सुरु गरेको हो। काठमाडौंको ३ नम्बर वडामा पर्ने उक्त जग्गाको मूल्य ३ करोड रुपैयाँ बराबर छ।

महानगर मेयर विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिन वडाध्यक्षहरूलाई निर्देशन दिएपछि यो अभियान सुरु भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

‘हामीले ३ नम्बर वडाबाट यो अभियान सुरु गरेका छौं,’ प्रवक्ता कार्कीले बुधबार सेतोपाटीसँग भने, ‘अब अन्य संघ–संस्था र व्यक्तिले कब्जामा राखेका जग्गा पनि फिर्ता लिएर सार्वजनिक स्थलका रूपमा विकास गरिनेछ।’

‘सार्वजनिक जग्गा जनताको हितमा’ अभियान अन्तर्गत यो अभियान सुरु गरिएको महानगरले जनाएको छ। यो आर्थिक वर्षभित्र महानगरले एक अर्ब रुपैयाँ बराबर जग्गा आफ्नो मातहत ल्याउने उद्देश्य लिएको छ।

तीन नम्बर वडामा करिब ३० देखि ३५ रोपनी जग्गा अतिक्रमित अवस्थामा रहेको वडाध्यक्ष दिपक केसीले जानकारी दिए। ती सबै जग्गा चैत मसान्तभित्र नियन्त्रणमा लिएर सार्वजनिक स्थल बनाउने उनले बताए।

‘हाम्रो वडामा रहेको करिब ३५ रोपनी जग्गा सार्वजनिक गर्दैछौं,’ उनले भने, ‘ती जग्गामा महिला, बालबालिका, युवा र जेष्ठ नागरिकका लागि उपयोगी हुने सार्वजनिक स्थल बनाउँछौं।’

यहाँ गायत्री समाजले हडपेको ४३ आना र मारवाडी सेवा समितिले कब्जा गरेको करिब ५ रोपनी जग्गा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए।
अतिक्रमित जग्गा नियन्त्रणमा लिएर बालबालिका, युवा, महिला र जेष्ठ नागरिक निम्ति ट्रेनिङ सेन्टर, क्लब, पार्क, बगैँचा निर्माणमा प्रयोग गर्ने महानगरले जनाएको छ।

‘हामीकहाँ खुला क्षेत्र अभावले स्थानीयलाई दिनुपर्ने सेवा–सुविधा दिन नसकेको अवस्था छ। अतिक्रमित जग्गा फिर्ता लिएपछि त्यसैमा पूर्वाधार विकास गरेर सार्वजनिक स्थल बनाउने छौं,’ केसीले भने, ‘अब महानगरभित्र खुला स्थल वृद्धि हुनेछ।’

यसअघि वडा नम्बर ३, रानीबारीको १ सय ३७ रोपनी जग्गामा पार्क बनाउन सुरु भएको महानगरले जनाएको छ। यसका लागि २ करोड रुपैयाँ बजेट छुट्टयाइएको छ।

वडा नम्बर ४ मा पनि १५ रोपनी अतिक्रमित जग्गा फिर्ता लिने तयारी भइरहेको महानगरले जनाएको छ।

‘महानगरभित्र रहेका जग्गा सार्वजनिकीरण गर्ने क्रम सुरु भएको छ। हामी ३२ वटै वडामा त्यस्ता जग्गा खोजी गर्दै छौं,’ प्रवक्ता कार्कीले भने, ‘सबै नियन्त्रणमा लिएर सार्वजनिक प्रयोगमा ल्याउँछौं।’

यस निम्ति महानगरले मालपोत र भूमिसुधार विभागको सहयोगमा नक्सांकन गरी संरक्षण गर्ने भएको छ। ती क्षेत्रमा पार्क निर्माण गर्ने महानगरले जनाएको छ।