Top Headlines:

रेशमलाल चौधरीको रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी

पूर्वसभासद रुकमणी चौधरीले २०७२ सालमा घटेको कैलालीको टीकापुर घटना नितान्तै राजनीतिक भएको दाबी गरेकी छन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन्।

टीकापुर घटनाको सत्य तथ्यसहितको प्रतिवेदन तयार पारिए पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाएकी छन्।

उनले भनिन्,‘टीकापुर घटना राजनीतिक थियो, आज त्यहीँ आन्दोलनको नाममा कयन व्यक्तिहरूलाई झूटा मुद्दा लगाएर जेलमा कोच्ने काम राज्यबाट भएको छ, हामी बुद्धका अनुयायी हौँ, हाम्रो संस्कारमा हिंसा भन्ने हुँदैन, रहस्यपूर्ण आन्दोलनपछि हाम्रो समुदायमाथि राज्यले गरेको दुर्व्यवहारलाई हामीले धेरै सहदैनौं।’

उनले अघि थपिन्,‘विगत चार दिनदेखि अनसनमा बसेका रेशम चौधरी लगायत सबैको ज्यान जोखिममा छ, सरकारले अनसन तोडाउने प्रयास गरोस् हाम्रा मागहरू पुरा गर्ने कष्ट गरोस्।’

त्यस्तै, संघर्ष समितिका केन्द्रीय सदस्य किशोर विश्वासले थारुलाई दासत्व र आन्तरिक उपनिवेशमा राखिएको आरोप लगाए।

उनले भने,‘यो मुलुकमा हाम्रो कुनै अस्तित्व स्वीकार गरिँदैन, हाम्रा मागहरूको बारेमा राज्य जहिले पनि निरीह छ, टीकापुर आन्दोलनको नाममा हाम्रो मुक्तिको आन्दोलनलाई कमजोर बनाउने कोसिस भयो, तर हामी कहिल्यै पनि पछि हट्दैनौं, हाम्रो आन्दोलन जारी छ, आत्मनिर्णयको अधिकारयुक्त थरुहट राज्य हाम्रो माग हो।’

उनले अघि थपे,‘वर्तमान संविधानले निर्धारणको गरेको ७ वटा प्रदेशको नामांकन र सीमांकन हामीलाई चित्त बुझेको छैन, यहाँ कानून हातमा लिएर कमजोर वर्ग र जातिमाथि प्रहार गर्ने गरिन्छ, यो कदापि स्वीकार्य छैन।’

रेशमलाल चौधरी जनताको मतबाट आएको बताउँदै विश्वासले भने,‘हाम्रो देशमा ठूलालाई चैन, सानालाई ऐन हुन्छ भन्थे हो रहेछ, आदालतबाट दोषी ठहर भएका र प्रहरीद्वारा इन्टरपोलको नोटिस जारी गरिएको नवराज सिलवाललाई पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गाडीमा बोक्छन्, तर राजनीतिक आन्दोलनका आन्दोलनकर्मी रशेमलाई जेल हान्छन्, उनले त अदालतको आदेशलाई शिरोपर गरेर अदालतमा उभिए, उनलाई धन्यवाद छ, आधिकारिक रूपमा टीकापुर घटनाको बारेमा प्रतिवेदन सार्वजनिक होस्, कसैलाई जेलमा कसैलाई संसदमा यति विभेदकारी राज्यको विरुद्धमा हामीले धावा बोल्ने दिन आयो भने त्यसको सबै क्षति राज्यले नै व्यहोर्नु पर्नेछ।’