Top Headlines:

फोरम बैठकः सर्वसम्वत मुख्यमन्त्री चुन्न दबाव, नेतृत्व मौन

संघीय समाजवादी फोरमको प्रदेश २ का सांसदहरुले सहमतिकै आधारमा संसदीय दलको नेता चुन्न नेतृत्वलाई दबाव दिएका छन् ।

फोरम प्रदेशको ठूलो दल भएकाले दलको नेता मुख्यमन्त्री बन्नेछन् । यद्यपि राजपा नेताहरुले आफूहरुको पनि दाबी रहेको बताउँछन् ।

प्रदेशसभाको पहिलो बैठकको अघिल्लो दिन फोरमले संसदीय दलको बैठक बोलाएको थियो, जसमा पार्टी अध्यक्ष उपेन्द्र यादवले झण्डै दुई घण्टा प्रशिक्षण दिए । लगतै प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राख्ने क्रममा सहमतिबाटै दलको नेता चयन गर्नु पर्ने मत व्यक्त गरेका छन् ।

तर, नेतृत्वले यसबारे मुख खोलेका छैनन् ।

बरु, विधानअनुसार भन्दै दलको नेता छान्न निर्वाचन समिति बनाएका छन् । बैधानिक रुपमा दलको नेता चयनका लागि निर्वाचन समिति बनाउनु पर्ने भन्दै पार्टी अध्यक्ष यादव आफैंले निर्वाचन समिति प्रस्ताव गरेका हुन् ।

पार्टी उपाध्यक्ष एवं प्रदेश २ की प्रमुख रेणु यादव संयोजक रहेको समितिमा मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य छन् ।

समितिले भोलि २ बाट उम्मेदवारी दर्ता लगायतको प्रक्रिया सुरु गर्नेछ । एक सदस्य भन्छन्, ‘सहमतिमै दलको नेता चयनको प्रयास भइरहेको छ । तर, नेतृत्वले मुख खोलेका छैनन् ।’

प्रदेश २ को मुख्यमन्त्रीका लागि फोरममा लालबाबु राउत, विजय यादव र शैलेन्द्र साहको दाबी छ । राउत पूर्व सभासद र पार्टीका उपाध्यक्ष हुन् । पर्साबाट विजयी उनलाई मुख्यमन्त्री बनाए जनकपुरलाई राजधानी बनाउँदा वीरगञ्जमा देखिएको असन्तुष्टि सम्बोधन हुने उनी पक्षको तर्क छ ।

विजय यादव पार्टी कोषाध्यक्ष र पूर्वमन्त्री हुन् । फोरमले अहिले पाएको भोटमा धेरै हिस्सा यादव समुदायको भएकाले विजयलाई मुख्यमन्त्री बनाएर जनमतको सम्मान गर्नु पर्ने उनी पक्षको मत छ ।

शैलश सप्तरीका हुन् । पार्टीको राजनीतिक समितिका सदस्य उनी पनि मुख्यमन्त्रीका दावेदार हुन् ।

तर, शनिबारको बैठकमा तीनै नेताले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत नगरेको एक प्रदेश सांसदले बताए ।

एक नेताका अनुसार भोलि उम्मेदवार दर्ता भइसकेपछि पनि सहमतिकै आधारमा दलको नेता चयनको प्रयास हुनेछ । ‘हामी अहिले सहज परिस्थितिमा छैनौं । पार्टीमा एकताको सन्देश दिन पनि दलको नेता र मुख्यमन्त्री सहमतिमै चयन गर्नुपर्छ । अन्तिमसम्म पनि यही प्रयास हुनेछ ।’

बैठकले प्रदेश सरकारको नियमावली मस्यौदा समितिमा सरोज सिंह र चञ्चमाया मोक्तानलार्इ पठाउने निर्णय गरेको छ भने कार्यव्यवस्था समितिको लागि ज्ञानेन्द्र यादव र योगेन्द्र राय यादव चयन भएका छन् ।
 
यस्तै पार्टी संचालनबारे नियमावली मस्यौदा  गर्न रामआशिस यादवको संयोजकमा सञ्जय यादव र पारस साह सदस्य रहेको समिति बनाएको छ ।