Top Headlines:

सरकारका पछिल्ला निर्णय चित्त नबुझे नयाँ सरकारले खारेज गर्ने अधिकार छ- नेता रिजाल

सत्तारुढ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले लोकप्रिय काम गरिरहेको दाबी गर्दै चिन्ता नगर्न वाम गठबन्धनको नेतृत्वलाई सुझाव दिएका छन्।

नेता रिजालले सरकारका पछिल्ला निर्णय चित्त नबुझे नयाँ बन्ने सरकारलाई खारेज गर्ने अधिकार रहेको पनि स्पष्ट पारे। आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ उनले नयाँ सरकार गठनका लागि आवश्यक गृहकार्य गर्न पनि वाम गठबन्धनका नेतृत्वको ध्यानाकर्षण गराए।

सरकारले मुलुकलाई ठूलो व्ययभार पर्ने गरी ६५ वर्ष उमेर पुगेकालाई पनि वृद्धि भत्ता दिने, भूकम्प पीडितलाई आवास निर्माणका लागि १ लाख रुपैयाँ थप गर्ने लगायतका निर्णय गरेको भन्दै एमाले र माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ। सोही विषयमा बोल्दै नेता रिजालले नयाँ सरकारले त्यसलाई खारेज गर्दा फरक नपर्ने प्रष्टयाएका हुन्।

कांग्रेस नेता रिजालले महासमिति बैठक तत्काल बोलाउन पनि पार्टी नेतृत्वसँग माग गरे। उनले संघीय ढाँचा अनुसार पार्टीको सांगठनिक संरचना तयार पार्न पनि महासमिति बैठक बोलाउनुको विकल्प नरहेको पनि स्मरण गराए।

कांग्रेस नेता रिजालले राष्ट्रिय सभा निर्वाचन तोकिएकै मितिमा हुने पनि बताए।