Top Headlines:

रानीपोखरी जिर्णोद्वारमा राणाकालीन भर्सेज मल्लकालीन विवाद

रानीपोखरी जिर्णोद्वार अध्ययन समितिका तीन सदस्यले अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेनन्।

एघार सदस्यमध्ये हस्ताक्षर नगर्ने तीनै जना पुरातत्व विभागका प्रतिनिधि थिए — प्रवक्ता रामबहादुर कुँवर, सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरे र स्ट्रक्चरल इञ्जिनियर पुरुषोत्तम डंगोल।

समितिले मल्लकालीन स्वरुप, शैली र निर्माण सामग्री प्रयोग गरेर रानीपोखरी जिर्णोद्वार गर्न काठमाडौं महानगरलाई सिफारिस गरेको छ। अन्य सबै बुँदा सर्वसम्मत भए पनि मन्दिर जिर्णोद्वारमा राय बाझिएको हो।

२०७२ को भुइँचालोमा भत्किएको यो मन्दिर राणाकालीन ‘गुम्बज’ शैलीमा बनाउने कि मल्लकालीन ‘ग्रन्थकुट’ शैली अपनाउने भन्नेमा विवाद छ।

पुरातत्व प्रतिनिधि राणाकालीन शैली नै निरन्तरता दिने पक्षमा छन्। इतिहासको कुनै कालखण्डमा बनेको स्वरूप मास्न नहुने उनीहरूको तर्क छ। समितिमै रहेका सम्पदाविद् भने राणाहरूको गल्ती दोहोर्याउन नहुने बताउँछन्।

हामीले दुवै पक्षसँग कुराकानी गर्दा यो विवाद तीन विषयमा केन्द्रित पाइयो।

पहिलो, मन्दिरको पछिल्लो राणाकालीन स्वरूप मास्न हुन्छ कि हुँदैन?

पुरातत्व प्रवक्ता कुँवर मास्न हुन्न भन्नेमा अडिग छन्।

‘इतिहासको कुनै कालखण्डमा बनेको स्वरूप आफैंमा पुरातात्विक महत्वको हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘मौलिक स्वरूपमा जाने भन्दैमा सम्पदा विकासक्रम बेवास्ता गर्न मिल्दैन।’

कुनै पनि सम्पदाको पुरातात्विक महत्वसँगै साँस्कृतिक परिवर्तन पनि स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

‘हरेक संस्कृति समयक्रममा परिवर्तन हुँदै जान्छ, यो साँस्कृतिक निरन्तरता हामीले स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘अरू कुरामा हाम्रो विमति छैन, मन्दिर भने गुम्बज शैलीमै बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ।’

पुरातत्व अधिकारीका अनुसार ग्रन्थकुट शैली भन्नेबित्तिकै तान्त्रिक मन्दिर भन्ने बुझिन्छ। जबकि, रानीपोखरीमा वर्षौंदेखि बालगोपालेश्वर मन्दिर देख्दै आएका छौं, जहाँ भाइटीकाको दिन पूजा हुन्छ। ‘मन्दिरसँग जोडिएको यो साँस्कृतिक पक्ष नमासियोस् भन्नेमा हामीले ध्यान दिनुपर्छ,’ कुँवरले भने।

समितिकै सदस्य तथा सम्पदाविद् सुदर्शनराज तिवारी भने पुरातत्वको तर्कसँग सहमत छैनन्।

ग्रन्थकुट शैलीमा बनाए पनि बालगोपालेश्वर मन्दिरलाई निरन्तरता दिन सकिने उनको राय छ।

‘ग्रन्थकुट शैलीमा बन्दा अहिलेजस्तो प्रदक्षिणा (वरिपरि घुम्ने) पथ थिएन। राणाकालमा गुम्बज शैलीको बनाएर प्रदक्षिणा पथ थपियो। अब पुनर्निर्माण गर्दा दुवै संरचना गाभ्न सकिन्छ,’ उनले भने।

मल्लकालको ग्रन्थकुट शैलीमा राणाकालीन प्रदक्षिणा पथ राखे दुवै कालखण्ड प्रतिनिधित्व हुने उनी बताउँछन्।

इतिहासको कुनै कालखण्डमा बनेको स्वरूप मास्न नहुने तर्कसँग पनि उनको विमति छ।

‘इतिहासमा भएको गल्तीलाई साँस्कृतिक विकासक्रम मानेर निरन्तरता दिइरहनुपर्छ भन्ने छैन,’ तिवारीले भने, ‘त्यसलाई सच्याउनुपर्छ, फेरि हामीले भइरहेको मन्दिर भत्काउन खोजेका होइनौं, भुइँचालोले भत्काएकोलाई वास्तविक स्वरुपमा पुनर्निर्माण गर्न खोजेका हौं।’

उनले पाटन, मंगलबजारको भाइदेगः मन्दिरको उदाहरण दिए।

विसं १६७८ मा निर्माण भएको यो मन्दिर पगोडा शैलीमा थियो। तीनतल्ले मन्दिर ९० सालको भुइँचालोले लगभग ध्वस्तै बनाएपछि पुनर्निर्माण भएन। यहाँको शिवलिंगलाई गुम्बज शैलीको सानो मन्दिर बनाएर संरक्षण गरियो। अहिले यो मल्लकालीन शैलीमै पुनर्निर्माण हुँदैछ।

राणाकालीन संरचना मास्न पाइँदैन भने भाइदेग पनि गुम्बज शैलीमै बनाउनुपर्ने उनको तर्क छ।

सम्पदाविद् मोनालिसा महर्जन सहमत छिन्।

‘रानीपोखरी मन्दिर ग्रन्थकुट शैलीमा बनाउन नहुने भए भाइदेगलाई तीनतल्ले पगोडा शैलीमा जाने अनुमति किन दिइयो?’ उनले प्रश्न गरिन्, ‘नियमले दिँदैन भने सबैतिर एकनास हुनुपर्यो, नभए कसैलाई अनुमति दिनु भएन।’

विवादको दोस्रो विषय हो, एक सय ७३ वर्षअघिको नक्साका आधारमा ग्रन्थकुट शैलीमा जान सम्भव छ कि छैन?

पुरातत्व विभागका अधिकारी सम्भव देख्दैनन्।

संरचनाको आकार नै यकिन नहुने चित्रका भरमा ग्रन्थकुट शैली अपनाउन नसकिने उनीहरूको तर्क छ।

रानीपोखरीको अहिलेसम्म उपलब्ध पुरानो चित्र सन् १८४५ को हो। त्यतिबेला रानीपोखरी बनेको १ सय ७६ वर्ष भइसकेको थियो।

तत्कालीन प्रुसियाका राजकुमार वाल्डमारको नेपाल भ्रमण डायरीमा उक्त चित्र संकलित छ (हेर्नुस् माथिको चित्र)। ‘रानीके ताल’ भनिएको चित्रमा यो मन्दिर ग्रन्थकुट शैलीमै बनेको देखिन्छ।

वाल्डमारभन्दा १ सय २४ वर्षअघि सन् १७२१ मा इटालीका जेस्विट इपोलिटी डेसिडेरी तिब्बतबाट काठमाडौं हुँदै भारत फर्केका थिए। उनको यात्रा वर्णनमा रानीपोखरीबीच ‘अग्लो संरचना’ रहेको उल्लेख छ। यसले ग्रन्थकुटकै झलक दिन्छ।

ब्रिटिस रेसिडेन्सीमा सर्जन भएर खटिएका हेनरी एम्ब्रोस ओल्डफिल्डले पनि रानीपोखरीबारे लेखेका छन्। उनी सन् १८५० देखि १८६३ सम्म नेपालमै बसेका थिए।

उनको ‘स्केचेज फ्रम नेपाल’ शीर्षक किताबमा यो मन्दिरलाई ‘सुरम्य संरचना’ भनिएको छ। त्यही किताबअनुसार जंगबहादुरले सन् १८५१ मा उक्त संरचना भत्काएर इँटा र प्लास्टरको बनाएका थिए, जसलाई एम्ब्रोसले ‘कुरुप संरचना’ को संज्ञा दिएका छन्।

यी तीनैवटा ऐतिहासिक दस्तावेजमा रानीपोखरी वर्णन भए पनि चित्र भने प्रुसियाका राजकुमारको भ्रमण डायरीमा मात्र फेला परेको छ।

रानीपोखरीको तत्कालीन परिवेश झल्किने उक्त चित्रमा ग्रन्थकुट शैलीको मन्दिर प्रस्ट देखिन्छ। मन्दिरको तल्लो भाग र माथिल्लो ग्रन्थकुट आकार भने समानुपातिक नभएको तिवारीको भनाइ छ। उनका अनुसार चित्रकारले मन्दिरको आकार वास्तविकभन्दा अग्लो बनाएका हुन सक्छन्।

पुरातत्व विभागका पूर्व महानिर्देशक साफल्य अमात्य यही चित्रका आधारमा ग्रन्थकुट शैली अपनाउन गाह्रो हुने बताउँछन्।

‘चित्रमा वास्तविक आकार खुल्दैन,’ उनले भने, ‘हामीसँग कल्पनामा आधारित चित्र र अनुमानबाहेक केही छैन। यत्तिको भरमा यति महत्वपूर्ण संरचना कसरी बनाउने?’

‘पाटनको भाइदेग मन्दिर त एम्ब्रोसको तस्बिरकै आधारमा बन्दैछ नि?’ सेतोपाटीको यो प्रश्नमा उनको जवाफ थियो, ‘भाइदेग मन्दिरमा आर्किटेक्चरल प्रमाण थिए, जसले वास्तविक संरचना यकिन गर्न सघाउ पुर्याउँथ्यो। रानीपोखरीमा यो सम्भावना छैन।’

इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तिवारी भने सहमत छैनन्।

‘चित्रको आधिकारिकता पुष्टि गर्ने केही संरचनात्मक प्रमाण रानीपोखरीमा पनि भेटिएका छन्। त्यस आधारमा हामी ग्रन्थकुट मन्दिरको उचाइ कत्रो थियो भनेर सजिलै हिसाब गर्न सक्छौं,’ उनले भने।

उनका अनुसार मन्दिरको चारै प्रवेशद्वारमा ढुंगाबाट बनेका चारवटा संघार भेटिएका छन्। यसले मन्दिरको तल्लो क्षेत्रफल निस्कन्छ। तिवारीका अनुसार सामान्यतया तल्लो भाग जत्रो छ, ग्रन्थकुट शैली त्योभन्दा साढे दुई गुणा अग्लो हुन्छ। अझ प्रस्ट हुन विज्ञ समितिले जग उत्खननको सिफारिस गरेको उनले बताए।

‘प्रताप मल्लकै पालामा बनेको स्वयम्भुको प्रतापपुर र अनन्तपुर हेरेर पनि यो मन्दिर बनाउन सकिन्छ,’ उनले भने, ‘यसको उचाइ प्रतापपुरसँग मिल्दो देखिन्छ। इञ्जिनियरिङमा यति हिसाब गर्नु ठूलो कुरा होइन।’

विज्ञ समितिका संयोजक विष्णुराज कार्कीले पनि ग्रन्थकुट शैलीमा जान कुनै समस्या नआउने बताएका छन्।

प्रतिवेदन सार्वजनिक क्रममै उनले भनेका थिए, ‘ग्रन्थकुट शैलीमा बनाउन सकिँदैन भनेर कसैले भन्छ भने हामीलाई जिम्मेवारी दिए हुन्छ, हामी बनाएर देखाइदिन्छौं।’

विवादको तेस्रो कारण हो, ग्रन्थकुट शैलीमा गए अहिलेसम्म बनेको संरचना के गर्ने? खेर जाने खर्चको जिम्मेवारी कसले लिने?

अध्ययन समितिका अन्य सदस्य विवादको चुरो यसैलाई मान्छन्।

रानीपोखरी जिर्णोद्वार क्रममा पोखरीको जिम्मा महानगर र मन्दिरको पुरातत्व विभागले लिएको थियो। पुरातत्वले राणाकालीन गुम्बज शैलीमै जिर्णोद्वार सुरु गरिसकेको छ। मल्लकालीन शैलीमा जाने निर्णय भए अहिलेसम्म बनेका संरचना भत्काउनुपर्नेछ।

यसअघि पोखरीमा कंक्रिट पर्खाल लगाउन खोज्दा काठमाडौं महानगरपालिकाले आलोचना खेपेको थियो। मन्दिरको संरचना फेर्ने निर्णय भए पुरातत्वको यो निर्णय प्रक्रिया पनि विवादित हुनसक्छ। बिनापरामर्श राणाकालीन शैलीमा बनाएर करोडौं रकम मासेको भन्दै अख्तियारले छानबिन गर्न सक्छ।

‘प्राविधिकभन्दा यस्ता व्यवहारिक समस्याले पुरातत्व ग्रन्थकुट स्विकार्न हच्किएको हुनसक्छ,’ तिवारीले भने, ‘कुन कालखण्डको निर्माणलाई सम्पदा मान्ने र कुनलाई नमान्ने भन्ने निर्णयमा जनताको पनि सहभागिता हुनुपर्छ। जसको सम्पदा हो, उसले पनि भन्न पाउनुपर्छ।’