Top Headlines:

राष्ट्रिय सभामा १७ उम्मेद्वार निर्विरोध, सबैभन्दा धेरै एमालेका ६ जना

राष्ट्रिय सभामा १७ उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन्। यद्यपी निर्वाचन आयोगले भने दावी विरोध र मनोयन फिर्ताको समय कटेपछि मात्रै निर्विरोध घोषणा गर्ने जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले १५ गते पछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न सक्ने बताए। १५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ।

निर्विरोध हुनेमा सबैभन्दा धेरै एमालेका ६ जना छन्। कांग्रेसका ५ र माओवादी केन्द्रका ३ जना निर्विरोध भएका छन्। संघीय फोरमको २ र राजपाका १ उम्मेद्वार पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश १ मा महिला समूह तर्फ ३ महिला निर्विरोध भएका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रका एकएक महिला निर्विरोध भएका हुन्।

त्यस्तै प्रदेश २ मा पनि ३ महिला सहित दलित र अपङ्गता/अल्पसंख्यक समूहका एकएक जना निर्विरोध भएका छन्। ३ महिलामा कांग्रेस, माओवादी केन्द्र र संघीय फोरमका एकएक रहेका छन्। त्यस्तै अल्पसंख्यकमा राजपा र दलितमा फोरमका उम्मेद्वार निर्विरोध भएका हुन्।

प्रदेश ३ र ४ मा भने कुनैपनि उम्मेद्वार निर्वरोध भएनन्।

प्रदेश ५ मा ३ महिला निर्विरोध भएका छन्। एमालेका २ र कांग्रेसकी १ महिला निर्विरोध भएका हुन्।

प्रदेश ६ मा कोहीपनि निर्विरोध निर्वाचित भएनन्।

प्रदेश ७ मा ३ महिला र ३ अन्य समूहका निर्विरोध भएका छन्। तीन महिलामा २ एमालेका हुन् भने १ कांग्रेसकी हुन्। अन्य समूहमा कांग्रेस, एमाले र माओवादीका एकएक निर्वाचित भएका हुन्।

राष्ट्रिय सभाको ५९ सिट मध्ये ५७ सदस्यका लागि हुन लागेको निर्वाचनमा ८३ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये महिला तर्फ २६, अन्य समूहमा २८, दलित तर्फ १४ र अपाङ्गता/अल्पसंख्यक समूहमा १५ जनाको उम्मेद्वारी परेको हो।

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुदैँछ।