Top Headlines:

आरजुलाई राष्ट्रिय सभामा ल्याउन कांग्रेसका महिला सांसदको माग

नेपाली कांग्रेसका चार निर्वाचित सांसदहरुले आरजु राणालाई राष्ट्रिय सभा ल्याउन माग गरेका छन्।

विज्ञप्ती जारी गर्दै उनीहरुले प्रतिनिधि सभा निर्वाचनमा पराजित राणालाई राष्ट्रिय सभामा उम्मेद्वार बनाउन माग गरेका हुन्।

एकल संक्रमणिय निर्वाचन प्रणाली अनुसार प्रदेश ७ मा कांग्रेसले खुल्लामा १ र महिला तर्फ १ सिट जित्ने सम्भावना छ। महिला तर्फ राणालाई उम्मेद्वार बनाउन उनीहरुले माग गरेका हुन्।

विज्ञप्ती जारी गर्नेमा सांसद दिव्यश्वरी शाह, उमाकुमारी वादी, नन्दा बम र अम्बिकाकुमारी थापा छन्।  उनीहरुले महिला प्रतिनिधित्व कम भएकाले राणालाई राष्ट्रिय सभामा ल्याउन माग गरेका हुन्।

प्रदेश सदस्य वादीले सेतोपाटीसँग आफूले पनि आरजुलाई राष्ट्रिय सभाम ल्याउन माग गरिएको विज्ञप्तीमा हस्ताक्षर गरेको बताइन्।

‘आरजु देशमा चाहिएको छ। त्यसमाथी महिला जनजातीको विषय, सुदुरपश्चिमको विषय र सात नंम्बर प्रदेशको विकासका लागि हामीलाई उहाँ देशलाई आवश्यकता छ भन्ने लागेको छ’, वादीले सेतोपाटीसँग भनिन्, ‘हामी पार्टी सभापतिलाई पनि ध्यानाकर्षण गराउँछौँ।’

उनले प्रदेश ७ को जिल्ला सभापतिहरुको पनि आफ्नो अजेण्डामा सहमति रहेको उल्लेख गरिन्। आरजु राणा प्रतिनिधि सभा निर्वाचनमा कैलाली ५ बाट पराजित भएकी थिइन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्।