Top Headlines:

प्रदेशसभा समानुपातिकतर्फका निर्वाचित उम्मेदवार घोषणा, ५ गते प्रमाणपत्र पाउने

निर्वाचन आयोगले चुनाव भएको ४१ दिनपछि प्रदेश सभामा समानुपातिकतर्फका निर्वाचित उम्मेद्वारको  नाम घोषणा गरेको छ।

आयोगले निर्वाचितहरुको नामावली भने बिहीबार मात्र सार्वजनिक गर्ने जनाएको छ।

संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेको थियो।

आयोगले निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन राजपत्रमा प्रकाशित गर्ने जनाएको छ।

आयोगले प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरुलाई माघ ५ गते शुक्रबार १ बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने जनाएको छ।