Top Headlines:

यस्तो छ वाम गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारको प्रदेशगत भागबन्डा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशगत रुपमै राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी टुङ्गो लगाएका छन्।

५९ सदस्यीय राष्ट्रिय सभाको ५६ सदस्यका लागि आउँदो माघ २४ गते निर्वाचन हुदैँछ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको दुई पार्टीको कार्यदलको बैठकले स्थानीय तहमा आएको मतपरिणामलाई आधार मानेर दुई पार्टीलाई सिट बाँडफाँड गरेको हो।

‘एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने टुंगो लगाएका छौं,’ बैठकपछि एमाले नेता सुवास नेम्वाङले भने, ‘बाँकी १३ सिटको उम्मेदवारीका लागि अन्य दलहरुसँग छलफल गर्नेछौं।’

कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डले एकल संक्रमणिय निर्वाचन प्रणालीमा हार्ने स्थानमा उम्मेद्वारी दिन आवश्यक नहुने बताए।

‘१३ सिटमा उम्मेद्वारी दिएर पनि काम छैन’, पाण्डेले भने।

तर १३ सिटमा पनि मधेस केन्द्रीत दलहरुसँग छलफल गर्ने जनाएको छ। गठबन्धनले प्रदेश १ का ८ मध्ये ६ सिटमा उम्मेदवार दिनेछ।

एमालेले ५ सिटमा उम्मेदवारी दिनेछ भने माओवादीले १ जना महिला उम्मेदवार उठाउनेछ। प्रदेश २ मा गठबन्धनले २ सिटमा मात्र उम्मेदवारी दिनेछ। त्यसमा माओवादीले १ महिला र एमालेले १ खुल्ला उम्मेदवार उठाउने छ। प्रदेश ३ मा एमालेले ५ र माओवादी केन्द्रले २ सिटमा उम्मेद्वारी दिनेछ।

प्रदेश ४ मा एमालेले ४ सिट र माओवादी केन्द्रले २ सिट पाउनेछ। त्यसैगरी प्रदेश ५ मा एमालेले ४ र माओवादी केन्द्रले २ सिटमा उम्मेदवारी दिनेछन्। त्यस्तै प्रदेश ६ मा एमालेले ५ र माओवादीले ३ सिटमा उम्मेदवार उठाउनेछन्। प्रदेश ७ मा एमाले ४ र माओवादीले २ सिटमा उम्मेदवारी दिने टुंगो लागेको हो।

यसअघि प्रतिनिधि सभामा एमाले र माओवादीले ६० र ४० प्रतिशत उम्मेदवारी दिएका थिए। यसपालि भने एमालेले दोब्बर बढी सिटमा उम्मेदवारी दिने भएको हो।

उम्मेद्वारी प्रतिशत झण्डै ७० र ३० देखिएको छ। नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले भने अझै गठबन्धनको एकता संयोजन समितिमा छलफल हुन बाँकी रहेको बताए।

‘अझै केही हेरफे हुनसक्छ’, बादलले भने।

माघ २४ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। यो चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख मतदाता हुन्छन्।