Top Headlines:

वाम गठबन्धनले ३ गते राष्ट्रिय सभा उम्मेदवार टु‌ंग्याउने

नेकपा एमाले र  माओवादीले राष्ट्रिय सभा र प्रदेश सभाको भागबन्डा मिलाउन गठन गरेको कार्दयलले मुख्यमन्त्रीदेखि राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भागबन्डा गर्ने विषयमा छलफल प्रारम्भ गरेको छ।

कार्दयललाई राष्ट्रिय सभाको सिट बाँडफाँड, प्रदेशको मुख्यमन्त्रीदेखि सरकार तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षसम्म भागबन्डा जिम्मेवारी दुबै दलले दिएका छन्।

कार्यदलमा रहेका माओवादी सदस्य मातृका यादवले छलफलमा मुख्यमन्त्री र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष चयनसम्मको विषय उठेको बताए।

‘आज हामीले दलहरुको प्रदेशमा भएको मत अध्ययन गर्‍यौं। अनि निर्वाचन प्रणालीको टेक्निकल पक्ष पनि हेर्‍यौँ’, यादवले भने, ‘३ गते हामी राष्ट्रिय सभामा गठबन्धनका उम्मेद्वार टुङ्गो लगाउँछौं।’

कार्यदलमा रहेका एमाले नेता सुवास नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली थाइल्यान्डबाट २ गते फर्किएपछि ३ गते उम्मेद्वारको टुङ्गो लगाउने बताए।

एमाले र माओवादीले राष्ट्रिय सभामा पाउने ५६ सिट बाँडफाँड गर्न लागेका हुन्। माओवादीले छलफलका क्रममा २ मुख्यमन्त्री दाबी गरेको छ। त्यस्तै राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक आफूले पाउनु पर्ने बताएको छ। बैठकमा प्रदेश सभाको सभामुख र उपसभामुखको बाँडफाँडमा समेत छलफल भएको थियो।

‘पहिलो प्राथमिकता राष्ट्रिय सभा उम्मेद्वार टुङ्गो लगाउने हो’, नेम्वाङले बैठकपछि भने, ‘त्यसपछि हामी हामीले पाएको जिम्मेवारी अनुसार अन्य विषय टुङ्गो लागउँछौ‌ं।’

निर्वाचन आयोगले आउँदो माघ १० गते राष्ट्रिय सभाको मनोनयन दर्ताका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यदलमा रहेका माओवादी केन्द्रका नेता पुनले सातै प्रदेशमा दुबै पार्टीको मत अध्ययन गर्ने काम भएको बताए।

‘मतका आधारमा राष्ट्रिय सभा उम्मेयद्वार तय गर्ने। प्रदेश तथा राष्ट्रिय सभाको सभामुख र उपसभामुख र अध्यक्ष/उपाध्यक्षका विषयमा छलफल गर्छौँ।’

कार्यदलले सिट बाँडफाँडको प्रतिशत, विभिन्न पदको पार्टीगत बाँडफाँडको आधार टुङ्गो लगाउन लागेको हो।