Top Headlines:

नुवाकोट तारुकामा गोरु जुधाई, २८ हल गोरु जुधाइँदै

नुवाकोटको पहिचानका रुपमा स्थापित हुँदै गएको गोरु जुधाई आजपनि आयोजना गरिने भएको छ ।
प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन तारुका र बेत्रावतीमा परम्परागत रुपमा मनाइँदै आएको गोरु जुधाई पर्वलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो ।

सामाजिक संस्कारको रुपमा झण्डै शताब्दीअघिदेखि नुवाकोटको तारुका–५ कटरबोट, चन्दनीमा र एक दशक अघिदेखि नुवाकोट र रसुवाको बेत्रावतीमा गोरु जुधाई मेला गरिँदै आएको छ । माघे सङ्क्रान्तिमा अवसरमा यो वर्ष भने २८ हल गोरु जुधाइने भएको छ । यसपटक तारुकामा १८ हल र बेत्रावतीमा १० हल गोरु जुधाइने मेला आयोजक समितिले जनाएको छ ।

मेलामा विजेता गोरु धनीलाई पाँच हजार र प्रमाणपत्र तथा उपविजेतालाई तीन हजार पुरस्कार तोकिएको छ । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ भएको र भान्जालाई मावली आउँदा स्वागतका लागि पहिलो पटक त्यहाँ गोरु जुधाईएको र त्यही वर्षदेखि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको जानकारहरु बताउँछन् ।