Top Headlines:

दुई नेताकै भूमिका कार्यकारी हुनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफ्नो भूमिका कार्यकारी हुने बताएका छन्।

प्रचण्डले पार्टी एकताका लागि अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद माओवादीका लागि हुनुपर्ने तर्क पार्टी बैठकमा गर्दै आएका छन्। तर, बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले दुवै नेताको कार्यकारी भूमिका हुनुपर्ने धारणा राखेका हुन्।

पत्रकारले प्रचण्डलाई –  ‘तपाई पार्टी अध्यक्ष नभएसम्म एकता हुँदैन भन्ने छ नि?’ भन्ने जिज्ञासा राखेका थिए।

जवाफमा प्रचण्डले भने – ‘त्यो कुरा सहि होइन।’

‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ। दुई नेताको भूमिका कार्यकारी भूमिका हुनुपर्छ भन्ने कुरामा विवाद छैन’, प्रचण्डले भने, ‘त्यो कुरालाई औपचारिक रूप दिन मात्र बाँकी छ।’

निर्वाचनको मतपरिणाम सार्वजनिक भएयता दुई पार्टीको एकता संयोजनन समितिको बैठक भने बस्न सकेको छैन।