Top Headlines:

अनिल गुरूङको सुखद बिदाई

अक्टोबर ८, सन् २००७ मा मस्कटमा ओमानविरूद्ध विश्वकप छनोट खेल्दा युवा स्ट्राइकर अनिल गुरूङले सायदै सोचेका थिए होलान्, आफूले करिअरका ५० औं क्याप पूरा गर्छु भनेर। त्यसयता उनले फर्केर पछाडि हेर्नुपरेको छैन। दश वर्षे अन्तर्राष्ट्रिय फुटबलमा बिताउँदाका धेरै तितामीठा अनुभव उनीसँग छ। साथीहरू म्याच फिक्सिङमा समातिएपछि आफ्नो काँधमा आएको जिम्मेवारी होस् वा कहिले फेरि राष्ट्रिय टिममा नै पर्नका लागि गरेका संघर्ष। अनिल गुरूङसँग मेहनत र लगनशीलताको लामो हिसाबकिताब मौजुद छ।

आज फिलिपिन्सविरुद्धको खेलसँगै ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गर्दै ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए। खेलको ८२ औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करिब १० मिनेटमात्र खेले। मैदान प्रवेश गर्दैगर्दा कप्तानी सम्हालिरहेका भेट्रान रक्षक विराज महर्जनले उनको पाखुरामा आर्मब्याण्ड लगाइदिएका थिए। आफ्नो पुरानो शैलीमा जोशिलो बन्दै उनी मैदान प्रवेश गरे र खेलमा मुभ बनाउन प्रयासरत रहे। नेपालले फिलिपिन्सलाई बराबरीमा रोक्न सफल भएको खेलमा उनले सन्यास लिनु वास्तवमा सुखद क्षण थियो।

अखिल नेपाल फुटबल संघ एन्फाले विशेष कार्यक्रम गरी मंगलबार अनिलको बिदाई गरेको छ। अध्यक्ष नरेन्द्र श्रेष्ठले उनलाई कोट लगाइदिँदै ताम्रपत्रले सम्मान गर्दा अनिल भावुक बने। त्यसपछि उनले मैदानको मध्यभागमा गएर मैदानलाई ढोगे। आफूलाई नेपाली समर्थक, मिडिया र खेलप्रेमीले गरेको मायाकै कारण यो स्थितिमा आएको कुरा उनले दोहोर्‍याए।

राष्ट्रिय टिमका अन्य खेलाडी साथी र भाइहरूले बोकेर मैदान घुमाए। आफ्नो खेल जीवनलाई यस स्थितिसम्म ल्याउन सहायता गर्ने सबैलाई एकपटक धन्यवादसहित आभार व्यक्त गरे। वास्तवमा यो क्षण उनका लागि त भावुक छँदै थियो एन्फाका पदाधिकारी र उनका डाइहार्ट फ्यानका लागि पनि यो क्षण भावुकमय बनिदियो।

नेपाली यू–१६ को क्याम्प हुँदै उनी यू–१९ र यू–२३ राष्ट्रिय टिममा पुगेका थिए। यसरी हेर्दा १२–१३ वर्ष अन्तर्रा्ष्ट्रिय फुटबल खेलेका छन् उनले। अनिलले विश्वकप २०१० को छनोटअन्तर्गत् सन् २००७ अक्टोबर ८ मा मस्कटमा ओमानसँग २–० ले हारेको खेलमार्फत् राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका थिए। त्यसपछि उनी निरन्तर पहिलो रोजाइमा खेल्दै अन्तर्रा्ष्ट्रिय फुटबलमा १० गोल गरेका छन्।

पछिल्लो समय चोटका कारण ताजिकिस्तानसँगको दुवै खेलमा टिम बाहिर रहेकाले उनले ५० क्यापका  लागि थप ६ महिना प्रतीक्षा गरेका थिए। सायद यो निर्णय लिन उनलाई गाह्रो नै भएको थियो। उनी स्वयंले बताए अनुसार पनि उनको उमेर अझै पनि खेल्ने समय हो। उनी भन्छन्, ‘अझै १–२ वर्ष खेल्न सक्छु। सबै कुरा मिहिनेत नै हो। तर पछिल्लो समयको नेपाली खेल गतिविधि देखेर सन्यासको निर्णय लिनुपरेको हो।’

सन् २००८ मार्च २५ मा पोखरा रङ्शालामा भएको पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। जुन खेल नेपालले २-१ ले जित्यो। जन्मभूमि पोखरामा उनको खेल हेर्न त्यतिबेलै हजारौँ दर्शक आएका थिए।  त्यसपछि उनी जब फुटबल खेल्न पोखरा पुग्थे उनको खेल हेर्नकै लागि पोखरा जुर्मुराउँथ्यो। आहा रारा गोल्डकपका बेला सारा पोखरा फुटबलमय बनेको समाचार सुन्दा उनी पनि उत्तिकै खुशी हुन्थे। पोखरामा उनको बेग्लै उचाइ हालसम्म छँदैछ।

उनले अफगानिस्तान, भुटान, टिमोर लेस्टे, बङ्लादेश र भारतविरूद्ध अन्तर्राष्ट्रिय गोल गरेका छन्। चार वर्षअघि सन् २०१३को सेप्टेम्बरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा उनले बंगलादेश र भारतविरुद्ध गोल गरेका थिए। दुवै खेलमा नेपाल विजयी भएको थियो तर सेमिफाइनलमा अफगानिस्तानसँगको दुःखद हारले गर्दा नेपालले घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपबाट बाहिरियो। त्यसयता उनले गोल गरेका छैनन् र क्रमशः टिममा पनि उनको स्थान अनिश्चित भइरहेको थियो। निरन्तर लिग नभइरहेको अवस्थामा उनलाई पनि गाह्रो नै थियो।

उनीमाथि भारतीय क्लबहरू पनि आकर्षित भएका थिए। त्यहाँबाट उनलाई प्रस्ताव पनि आयो। त्यस्तै यूरोपबाट पनि अफर आयो। उनी सहारा युकेको सहयोगमा विश्वविख्यात क्लब चेल्सीको छैटौं डिभिजन पनि क्लब ‘वोकिङ’ मा ट्रायल दिन बेलायत पुगे। यस समय उनको चर्चा सर्वत्र फैलिएको थियो। तर  बेलायतमा वर्क परमिट नपाउँदा उनी स्वदेश नै फर्किए।

चेल्सीको ट्रायल सकेर नेपाल फर्केपछि उनी भारतको आई लिग क्लब सिलोङ लाजोङमा पुगे। उनलाई २०६६ कात्तिकमा ६३ लाख रुपैयाँ पारिश्रमिक तोक्दै सिलोङ लाजोङले तीन वर्षको लागि अनुबन्ध गर्‍यो। त्यस रकम पनि नेपाली फुटबलको अर्को कीर्तिमान थियो। उनले आई लिगलगायत त्यहाँका केही प्रतियोगिता खेलेर गोल पनि गरे। दुई वर्ष पुग्दा नपुग्दै उनी नेपाल फर्के। यसपछि मनाङको कप्तानी पनि गरेका उनले क्लब फुटबलमा दुई दर्जन बढी नकआउट प्रतियोगिताको उपाधि जितेका छन्।

दश नम्बरको जर्सी लगाएर मैदानमा देखा पर्ने अनिलका समर्थक पोखरादेखि दक्षिण एसियासम्म नै छन्। उनी फुटबल तालिम लिन यूरोप पुग्दा होस् वा जापान त्यहाँ पनि उनका शुभचिन्तक र समर्थकको कुनै कमी थिएन।

यसरी दश वर्ष नेपाली राष्ट्रिय टिमबाट खेल्दै आज बिदा भएका अनिललाई सयौँ बधाईहरू र शुभेच्छाहरू आइरहेका छन्। जित वा हार, उनको धैर्यशील स्वभावले सबैलाई प्रभावित गर्ने गर्दछ। आज करिअरलाई सेफ ल्यण्डिङ गर्दा पनि उनको चार्म उस्तै तेज रहनुले उनको सफलता प्रष्ट झल्काएको छ।