Top Headlines:

कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज

तनहुँ- १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ।

निर्वाचन आयोगले ‘भ्रष्टाचार मुद्दामा मुछिएको’ भन्दै जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए। लगत्तै पौडेलले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी दिए।

आयोगको शनिबार साँझ बसेको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको तनहुँ-२ का निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले  जानकारी दिए। जोशीविरुद्ध भ्रष्टाचार अभियोग लागेकाले उम्मेदवार हुन अयोग्य ठहर्‍याउँदै बदर गर्न निर्देशन दिएको उनले बताए।

शुक्रबार तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा आयोगबाट निर्देशन माग गरेको थियो।