Top Headlines:

महिला नेतृ भन्छन्– नेताहरूमा पितृसत्तात्मक मानसिकता अझै हटेको छैन

मंसिर २१ गते चुनाव हुने १ सय २८ क्षेत्रमध्ये कैलाली–१ एकमात्र यस्तो निर्वाचन क्षेत्र हो, जहाँ दुई महिला प्रतिष्पर्धा गर्दै छन्। त्यहाँ कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनबाट एमालेकी मदनकुमारी (गरिमा) शाह प्रतिस्पर्धामा उत्रिएका हुन्।

न्यौपाने र शाह ती थोरै महिला नेतृमध्ये हुन् जसले चुनावमा उठ्ने अवसर पाएका छन्। देशका अन्य भागमा उम्मेदवारको संख्या एकदमै न्यून छ।

दोस्रो चरणको चुनाव हुने १ सय २८ प्रतिनिधसभा सिटमध्ये प्रमुखले १५ जना मात्र महिलालाई उम्मेदवार बनाएका छन्।
वाम गठबन्धनबाट ९ र लोकतान्त्रिक गठबन्धनबाट ६ महिला नेतृले टिकट पाएका हुन्।

वाम गठबन्धनले ललितपुर– ३मा पम्फा भुषाल, सुनसरी – ३मा भगवती चौधरी, झापा– २ मा पवित्रा निरौला, पर्सा– ४मा उर्मिला अर्याल, कञ्चनपुर–१ मा बीना मगर, स्याङ्जा–२ मा पद्माकुमारी अर्याल, उदयपुर– १ मन्जुकुमारी चौधरी र तेह्रथुममा भवानी खापुङलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले प्रधानमन्त्री पत्नी आरजु देउवा राणालाई कैलाली–५ मा टिकट दिएको छ। मकवानपुर–२ मा महालक्ष्मी उपाध्याय, काठमाडौं– ३मा अम्बिका बस्नेत, दाङ– १ मा सुशीला चौधरी र महोत्तरी–२ मा किरण यादवलाई उम्मेदवार बनाएको छ।

पहिलो चरणको निर्वाचनमा कांग्रेसबाट खोटाङमा सरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा चम्पादेवी खड्काले उम्मेदवार बनेकी थिइन भने पूर्वी रुकुममा वाम गठवन्धनबाट माओवादीकी कमला रोक्काले उम्मेदवारी दिएकी थिइन्।

संविधानमै संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था भए पनि महिला नेतृलाई प्रत्यक्षमा चुनाव लडाउन दलहरूले उदासिनता देखाएका हुन्।

कांग्रेस नेतृ कमला पन्त टिकट पाउन सकेको मेहनत गरेकी थिइन्। तर, उनको हातमा टिक परेन।

पन्तले सेतोपाटीसँग भनिन्, ‘जुन क्षेत्रमा टिकट दिए पनि मज्जाले जित्छु भनेकी थिएँ। तर पत्याएनन्। शीर्ष नेताहरूमा पितृसत्तात्मक मानसिकता अझै हटेको छैन।’

माओवादी केन्द्रको नेतृ आशा कोइरालाले स्थानीय चुनावमा महिलालाई टिकट दिन धेरै प्रयास गरेको तर संघ र प्रदेशसभा निर्वाचनको आफूहरु थाकेको बताइन्।

‘दलले महिलाले व्यवस्थापन लगायतका काम चुस्त रूपमा गर्न सक्दैनन् भनेर आरोप लगाउँदै आएका छन्। जसकारण सिद्धान्ततः ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने भनिए पनि त्यो हुन सकेन,’ कोइरालाले सेतोपाटीसँग भनिन्।