Top Headlines:

देउवाले भने-वाम गठबन्धनलाई पराजित गर्न एकबद्ध भएर चुनावी अभियानमा लागौँ

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गरेका छन्।

प्रधानमन्त्री देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउन एकताबद्ध भएर चुनावी अभियानमा जुट्न काँग्रेस नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुक्रबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ–गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए।

प्रधानमन्त्री देउवाले वामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्न तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए। उनले  एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्ममाथिनै प्रहार गरेकाले पनि संविधानको रक्षा गर्न पनि आगामी निर्वाचनमा काँग्रेस विजयी हुनुको विकल्प नरहेको दाबी समेत गरे।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्न सक्षम हुने दाबी गरे। उनले वामपन्थी गठबन्धनलाई पराजित गर्न पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा लाग्न पनि निर्देशन दिए।

महामन्त्री कोइरालाले कम्युनिष्टहरूको एकताले लोकतन्त्रमाथि चुनौती थपिएपनि त्यसलाई पराजित गर्न काँग्रेस सफल हुने दाबी गरे।