Top Headlines:

यी हुन् चीनको नेतृत्व गर्ने सात शीर्ष नेता

बुधवार सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेसले आगामी पाँच वर्ष चीनको नेतृत्व गर्न पार्टीको स्थायी समितिमा सात शीर्ष नेता चयन गरेको छ। पार्टीको सर्वोच्च संस्था स्थायी समितिमा रहेका यी सात जनाले नै सरकारका विभिन्न पदमा बसेर चीनको नेतृत्व गर्नेछन्।

बुधवार सम्पन्न पार्टी कांग्रेसले राष्ट्रपति सी चिनफिङलाई अर्को पाँच  वर्षका लागि पार्टी महासचिव चुनेको छ।

चिनफिङले नै आगामी पाँच वर्ष चीनको बागडोर सम्हाल्ने छन्। उनको विचारलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमै ‘सी चिनफिङ विचारधारा’ का रूपमा राख्ने यसपालि पार्टीले गरेको निर्णयले सी चीनमा माओ त्सेतुङपछि सबैभन्दा शक्तिशाली नेताका रूपमा उदाएका छन्।

प्रधानमन्त्री ली खछ्याङ स्थायी समितिमा पर्ने दोस्रो नेता हुन्। उनी प्रधानमन्त्रीकै रूपमा कायम रहने छन्।

ली झन्सु स्थायी समितिमा पर्ने तेस्रो नेता हुन्। उनी चिनियाँ कम्युनिष्ट पार्टीको कार्यालयका निर्देशक तथा राष्ट्रिय सुरक्षा आयोगका प्रमुख हुन्।

स्थायी समितिका चौथो सदस्य वाङ याङ उपप्रधानमन्त्री हुन्। योभन्दा अघि उनी ग्वाङडोङ प्रान्तको पार्टी महासचिव थिए। उपप्रधानमन्त्रीका रूपमा वाङ केही महिनाअघि नेपाल आएका थिए।

चीनको पाँचौं शीर्ष नेतामा चुनिएका वाङ हुनिङ चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा राजनीतिशास्त्री हुन्। उनी योभन्दा अघि चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य थिए। उनले पार्टीको प्रोपागाण्डा विभाग सम्हाल्ने  अपेक्षा गरिएको छ।

स्थायी समितिमा चुनिएका छैठौं नेता झाओ लेजी चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालय सदस्य तथा पोलिटब्युरो सदस्य हुन्।

स्थायी समितिमा नियुक्त भएसँगै उनलाई भ्रष्टचारविरुद्ध लड्ने शक्तिशाली आयोगको प्रमुखमा नियुक्त गरिदैँछ।

चीनबाट भ्रष्टाचार निर्मूल गरी छाड्ने राष्ट्रपति सीको प्रतिवद्धतासँगै यो आयोग शक्तिशाली मात्र मानिन्न चिनियाँ अधिकारीहरूलाई यसको ठूलो त्रास पनि हुने गर्छ।

पछिल्ला केही वर्षमा धेरै शक्तिशाली चिनियाँ राजनीतिज्ञ तथा अधिकारी भ्रष्टाचार गरेको आरोपमा कारबाहीमा परेका छन्।

स्थायी समितिमा चुनिएका सातौं नेता वाङ झेङ हुन्। उनी सांघाई कम्युनिष्ट पार्टीको सचिव तथा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य हुन्।