Top Headlines:

क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो पटक फिफा वर्ष खेलाडी

लण्डन 

मेसी र नेईमारलाई पनि पछि पार्दै क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन्।

सोमबार राति  लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे ।

३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्टसलाई चार एक गोलले हराएको थियो भने रोनाल्डोले २९ लिग खेलमा २५ गोल गरेपछि रियलले पाँच पर्षपछि पहिलो पटक ला लिगाको उपाधि जितेको थियो ।

यो सँगै रोनाल्डोले पाँचौ पटक अवार्ड जितेर लिओनल मेसीको कीर्तिमानसँग बराबरी गरेका छन्।‘हामी पहिलो पटक इंग्ल्याण्डमा छौं र मैले दोस्रो पटक यो अवार्ड जितें, यो मेरालागि एक उत्कृष्ठ पल हो ।’ अवार्ड लिँदै रोनाल्डोले भने ।

उत्कृष्ट गोल गरे बापत प्रदान गरिने पुस्कस अवार्ड आर्सनलका स्ट्राइकर ओलिभर जिरुडले हात पारे भने स्कटिस क्लब सेल्टिकका समर्थकले फ्यान अवार्डको पुरस्कार जिते । फेयर प्ले अवार्ड टोगोका फ्रान्सिस कोनेलाई दिइयो।