Top Headlines:

टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटू, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ।

मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, विक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय/जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आज पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत हुने सामग्री उत्पादन, विक्री वितरण र प्रयोगमा कडाइका साथ रोकथाम र नियन्त्रण गर्न निर्देशन दिएको उनले बताए।

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री व्यापक रूपमा उत्पादन तथा वितरण गर्न लागेको सूचना पाएपछि आयोगले यस्तो निर्णय लिएको हो। आयोगले पठाएको पत्रमा भनिएको छ, ‘निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री प्रयोग गरेको पाइएमा जफत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गरिने छ।’

यसअघिको निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधी कारबाही गरेको थियो। निर्वाचनको अनुगमन गर्ने क्रममा आयोगबाट खटिएको टोलीले दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नअंकित टी शर्ट, टोपी, गम्छा र झोला बरामद गरी नष्ट गर्नाका साथै सम्बन्धित पक्षलाई कारबाही गरेको थियो।