Top Headlines:

छैटौं वरीयताका एआईजी जोशीलाई निमित्त आईजीको कार्यभार सुम्पिएसँगै नेपाल प्रहरीमा असन्तुष्टि

नेपाल प्रहरीमा केही दिनयता महानिरीक्षक परिवर्तन हुने चर्चा निकै चलेको छ । सोही कारण आईजी प्रकाश अर्यालले वरिष्ठतालाई बाइपास गरी छैटौं वरीयताका एआईजीलाई निमित्तको कार्यभार दिएर विदेश हिँडेका छन् ।

आइजीपी अर्यालले प्रहरी महानिरीक्षकको अनुपस्थितिमा वरिष्ठतामा दोस्रो नम्बरमा एआईजीलाई कार्यावाहक दिने परम्परा तोडेका हुन् । अर्यालले चीन उड्नुपूर्व कार्यवाहक महानिरीक्षक अतिरिक्त महानिरीक्षक (एआईजी) माधवप्रसाद जोशीलाई दिएका छन् ।

अर्यालको अनुपस्थितिमा कार्यालयको सम्पूर्ण प्रशासनिक काम अब एआईजी जोशीले सम्हाल्ने छन् । कनिष्ठ एआइजी जोशीलाई निमित्त कार्यभार सुम्पिएसंगै प्रहरीमा हलचल मच्चिएको छ ।

पहिलो वरीयताका एआईजी बमबहादुर भण्डारी अर्यालसँगै चीन गएका छन् । एआईजीको दोस्रो वरीयतामा जयबहादुर चन्द छन् । उनी अहिले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत छन् । उनी प्रहरी प्रधान कार्यालयमा नभएकाले जोशीलाई निमित्तको कार्यभार दिइएको महानिरीक्षक कार्यालयले दाबी गरेको छ ।

नेपाल प्रहरीमा आईजी अर्याललाई हटाएर दोस्रो वरीयताका एआईजी चन्दलाई आईजी बनाउने चर्चा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्याललाई राजीनामा दिई चन्दका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको भन्ने समाचार बाहिरिएपछि प्रहरीमा गुटबन्दी सुरु भएको हो ।

नेपाल प्रहरीमा अहिलेसम्म वरिष्ठ एआईजीलाई कार्यभार दिने प्रचलन थियो । त्यसैलाई निरन्तरता दिएको भए चन्दले निमित्तको कार्यभार पाउँथे । किनकि पहिलो वरीयताका एआईजी भण्डारी पनि विदेश भ्रमणमै छन् ।