Top Headlines:

आज घटस्थापना, शुभ साहित कति बजे ? हेर्नुहोस् आजको दिन, २०७४ आश्विन ५ गते

आज विक्रम संवत् २०७४ साल आश्विन ५ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि प्रातः १०।४ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । हस्ता नक्षत्र राति १२।१४ बजेसम्म रहने छ । यसैगरी आज शुक्ल योग र बालव करण रहेको छ । सूर्योदय प्रातः ५।५२ बजे छ भने सूर्यास्त बेलुका ६।०० बजे हुने छ । चन्द्रमा आज कन्या राशिमा छन् । आज पश्चिम र दक्षिण दिशाको यात्रा शभदायी रहने छ ।
आज दुर्गा पक्षको पहिलो दिन घटस्थापना हो । घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज विधि पूर्वक देवीको घट(कलश) स्थापना गरी जौका जमरा राखिन्छ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यस दिन विधिपूर्वक कलश स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनासँगै भगवती देवीको पूजा आराधनाको पनि आरम्भ हुन्छ । आज शैलपुत्री भगवतीको उपासना गरिन्छ ।
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखिन्छ । यस पछि शास्त्रीय विधि अनुसार दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।
पूजास्थनमा उक्त पवित्र माटो छरेर बीचमा एक विशेष घडा अर्थात् कलशको स्थापना गरिन्छ । कलशमा वरुणादि सम्पूर्ण देवी देवताको आह्वान हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा(कलशको) वरिपरि जमराका निम्ति छर्नु पर्दछ । भगवती दुर्ग देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य हुने गर्दछ ।