Top Headlines:

प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो, महिला सहभागिता उत्साहजनक

प्रदेश २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संविधान संशोधन विधेयक असफल भएपछि राष्ट्रिय जनता पार्टी समेत सहभागी भएको चुनावमा झण्डै ७३ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश २ मधेस आन्दोलनको उद्गम स्थल नै हो । साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेका थिए ।

तर, मतदाताहरुले उत्साहजनक रुपमा मतदान गरेका छन् । बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई-तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए ।

बृद्धबृद्धाहरु पनि परिवारको सदस्यको सहयोगमा मतदान स्थलमा पुगेका थिए । आयोगका अनुसार मतदानमा महिला तथा दलित समुदायको सहभागिता निकै उत्साहप्रद रहेको छ ।

प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका वीरगञ्ज महानगरपालिकासहित १३६ स्थानीय तहमा चुनाव भएको छ ।यो चुनावले ६ हजार ६१९ जनप्रतिनिधि चयन गर्नेछन् । कुल ६ हजार ६२७ पदमध्ये ८ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा ३७ हजार २३६ उम्मेदवार चुनावी मैदानमा छन् ।

 

निर्वाचन आयोगका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा राजपाका वडाध्यक्ष उम्मेदवारको निधन भएका कारण दुई वटा मतदान केन्द्रमा मतदान हुन सकेन । त्यहाँ ५ गते मतदान गर्ने तय भएको छ ।

केही स्थानमा भने फर्जी मतदाता पनि भेटिएका छन् । नक्कली मतदाता भई मत दिन प्रयास गर्ने ३८ जना र कानुनको उल्लंघन गर्ने अन्य १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु मध्ये ११ जना महोत्तरीमा पक्राउ परेका हुन् ।प्रदेश २ को चुनावसँगै नयाँ संविधान अनुसार स्थानीय तहको निर्वाचन देशभर सम्पन्न भएको छ । ‘संविधानले व्यवस्था गरेअनुसार संघीय संरचनाको पहिलो खुट्किलोको रूपमा रहेको स्थानीय तहको निर्वाचन गराउने संवैधानिक दायित्व पूरा गर्न पाएकोमा निर्वाचन आयोग गौरव महसुस गर्दछ,’ प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने ।

प्रदेश १, ३ र ५ मा वैशाख ३१ र प्रदेश ४, ६ र ७ मा असार १४ मा चुनाव भएको थियो । दुबै चुनावमा राजपा सहभागी भएन । तर, तेस्रो चरणको चुनावमा राजपाले पनि सहभागिता जनाएकाले यसलाई अर्थपूर्ण मानिएको छ ।

के होला चुनावी परीणाम ? 

निर्वाचन आयोगका अनुसार स्थानीय तहको केन्द्रमा मतपेटिकाहरु ल्याएपछि राजनीतिक सहमति कायम गरी मतगणना सुरु हुनेछ । पाँच दिनभित्र सबै स्थानीय तहको चुनावी परीणाम आइसक्ने आयोग पदाधिकारीको दाबी छ ।

चुनावी मैदानमा होमिएका प्रमुख ५ दलले प्रदेश २ मा आफू पहिलो हुने दाबी गरेका छन् । तर, पहिलो पार्टीका लागि कांग्रेस र राजपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै एमाले, माओवादी र संघीय समाजवादी फोरम पनि धेरै पछाडि नरहने बताइन्छ ।