Top Headlines:

निर्वाचनको सम्पूर्ण तयारी पूरा, परिचयपत्र वितरण जारी

काठमाडौं, १ असोज – निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका सम्पूर्ण तयारी भएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापन दुरुस्त रहेको जानकारी दिनुभयो । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्र पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहसाथ भइरहेको, मतदातालाई सही रुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रहरूमा चलिरहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा भोलि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । यस्तै मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ ।

१ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष र विभिन्न सदस्य पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ ।

परिचयपत्र वितरण जारी

भोली हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहका मतदातालाई आजपनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा प्रदान गरिदैछ ।

मतदाता परिचयपत्र वितरणसंगै सही तरिकाले मतसङ्केत गर्न पनि सिकाइने आयोगका प्रवक्ता नवराज ढकालल जानकारी दिनुभयो । मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउनेलाई मत संकेत गर्न सिकाइरहेको उहाँले बताउनुभयो ।

अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ । मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र ५ दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने तयारी अघि बढाइएको आयोगले जनाएको छ ।