Top Headlines:

पौडेल समूहको मागः भ्रष्टाचारीलाई चुनाव लड्न दिने संशोधन फिर्ता होस्

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने भन्दै परेको संशोधन फिर्ता लिन पार्टी नेतृत्वसँग माग गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको पौडेल समूहको बैठकले भ्रष्टाचारीलाई चुनाव लड्न दिनु पर्ने संशोधनको पक्षमा उभिन नसक्ने ठहर गरेको छ । ‘यो देश र पार्टीको हितमा छैन । अमुक व्यक्तिको हितमा संशोधन हालिएको छ,’ नेता धनराज गुरुङले भने, ‘यो फिर्ता गर्न माग गरिएको छ ।’

सरकारले प्रदेश र संसदको चुनावसम्वन्धी कानुनमा भ्रष्टाचारीलाई आजीवन चुनाव लड्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ । तर, कांग्रेसका १९ सांसदले सजाय पाएको ३ वर्षपछि चुनाव लड्न दिनुपर्ने भन्दै संंशोधन हालेका छन् ।

यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक नगर्ने र १९ जनाले राखेको संशोधन नै पार्टीको धारणा जस्तो भएको भन्दै पौडेल समूहले असन्तुष्टि जनाएको छ ।

साथै प्रदेश २ को टिकट वितरण प्रक्रियाप्रति पनि यो समूहले असन्तुष्टि जनाएको छ । संसदीय बोर्ड भन्दा बाहिर गएर टिकट बाँडेको पौडेल समूहको आरोप छ ।

बैठकले बाँकी स्थानीय तहमा प्रक्रिया सम्वत रुपमा टिकट बाँड्न माग गरेको छ ।