Top Headlines:

आज कृष्ण जन्माष्टमीः भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।  कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो ।  आजको दिन देशभरका कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिनुहुँदै सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिले दिनु भएको शुभकामना सन्देशमा उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।