Top Headlines:

स्थानीय तह सञ्चालनका लागि पन्ध्र दिनमा ऐन आउँछः उपप्रधानमन्त्री गच्छदार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज यहाँ आयोजना गरेको सफा सहर घोषणा एवम् पुरस्कार वितरण कार्यक्रममा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले उक्त जानकारी गराएका हुन्।

मन्त्री गच्छदारले भने, “स्थानीय तह सञ्चालनका लागि संविधानमा रहेर १५ दिनभित्र स्थानीय तहको जनप्रतिनिधिको हातहातमा ऐन पुर्‍याउने छौँ । जसले गर्दा सहज रुपमा काम गर्ने वातावरण बन्नेछ । ”

ऐनको अभावका कारण जनप्रतिनिधिलाई विकासको काम गर्न समस्या रहेकाले अहिले मन्त्रालय ऐन निर्माणको लागि सक्रियतापूर्वक लागिरहेको मन्त्री गच्छदारको भनाइ छ । संविधानको केही बुँदामा आफ्नो दलको असहमति रहेपनि समग्रमा संविधान विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यसको कार्यान्वयनका लागि नागरिक र राजनीतिक दलको उत्तिकै भूमिका रहने बताए।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई स्वायत्त, सक्षम र सबल बनाउन मन्त्रालयका तर्फबाट कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए। उनले फोहोर संकलनको जिम्मा सामुदायिक र निजी क्षेत्रलाई दिन सके कम लागतमा सहर सफा हुने धारणा राखे।