Top Headlines:

पूजार्चना र मान्यजनबाट आश्रिवाद लिईदैः यस्तो छ धार्मिक विश्वास

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।  अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।  आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायत प्रसाद चढाइन्छ । यस उपलक्ष्यमा पशुपतिको वासुकी मन्दिर, धापाखेलस्थित नागदह, नक्सालस्थित नागपोखरी, कर्कोटकको बासस्थान रहेको मानिने टौदहलगायत स्थानमा मेला लाग्छ ।

यस्तै प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी र रक्षाबन्धन आज श्रावण शुक्ल पञ्चमीकै दिन मनाइँदैछ । यही साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने ‘सत्कर्म रत्नावली’, ‘निर्णय सिन्धु’, ‘कृत्यबाटिका’लगायत ग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।