Top Headlines:

मन्त्रिमण्डल विस्तार अघि राजपासँग बैठक

मन्त्रिमण्डल विस्तार गर्नुअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्दले राष्ट्रिय जनता पार्टी नेपालसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि तीन दलका शीर्ष नेताहरुबीच बैठक जारी छ।

मन्त्रिमण्डल विस्तारका लागि मन्त्रालयको भागवण्डासमेत टुंग्याइसकेका कांग्रेस र माओवादीले आजको बैठकमा राजपा नेताहरुसँग संविधान संशोधनबारे उनीहरुको धारणा माग्ने स्रोतले बतायो।

संसदमा संविधान संशोधनको पक्षमा दुई तिहाइ नपुग्ने भएपछि संशोधन प्रस्ताव अघि नबढाएको सत्तारुढ घटकले पारित नभए पनि प्रस्ताव मतदानमा लैजानु पर्ने राजपाको राय भए त्यसो गर्न पनि तयार रहेको बताउँदै आएको छ।

आजको बैठकमा  सोही विषयमा राजपाको सल्लाह मागिने र राजपाले पास फेल जे भएपनि प्रस्ताव मतदानमा लैजान भने मन्त्रिमण्डल विस्तारलाई केही समय पर धकेलेर संविधान संशोधन  पक्रिया अघि बढाउने तर राजपाले पनि फेल हुने संशोधन मतदानमा नलैजाउँ भन्ने राय दियो भने आजै मन्त्रिमण्डल विस्तार गर्ने सत्तारुढ घटकको तयारी छ।

बैठकमा सत्तारुढ घटकले राजपाका नेताहरुलाई सरकारमा सहभागी हुन पनि आग्रह गर्ने र असोज २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनका विषयमा पनि छलफल हुने बालुवाटार स्रोतले बतायो।

यसअघि मंगलबार साँझ बसेको कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले मन्त्रिमण्डल विस्तारमा मन्त्रालयको भागबन्डा टुंग्याएका थिए।